सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ फरक–फरक दलले जित हासिल गरे पनि समानुपातिक मत परिणाममा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ।
जिल्लाका दुई प्रतिनिधिसभा क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट रास्वपाका भरतप्रसाद पराजुली निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल विजयी भएका थिए। तर समानुपातिक मतगणनाको परिणाममा भने रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको निर्वाचन अधिकृत राजेशकुमार थापाले जानकारी दिए।
उनका अनुसार दुबै क्षेत्रको कुल मत जोड्दा रास्वपाले ५३ हजार ३ सय ९५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। त्यसपछि नेपाली कम्युनिष्ट पार्टी २५ हजार ९ सय ४९ मतसहित दोस्रो बनेको छ। नेपाली कांग्रेस २४ हजार १ सय १९ मतसहित तेस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले २३ हजार ४ सय ८२ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भएको छ। जिल्लाका दुबै क्षेत्रमा समानुपातिकतर्फ ५७/५७ दल चुनावी प्रतिस्पर्धामा सहभागी थिए।
क्षेत्र नम्बर १ को परिणाम
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ रास्वपाले २७ हजार ५ सय २५ मत प्राप्त गरेको छ, जुन प्रत्यक्षतर्फ प्राप्त मतभन्दा ३ हजार १ सय २८ बढी हो। यस क्षेत्रबाट रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुलीले प्रत्यक्षतर्फ २४ हजार ४ सय १३ मत प्राप्त गरेका थिए।
यसै क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटाले प्रत्यक्षतर्फ १७ हजार ३ सय २७ मत पाए पनि समानुपातिकतर्फ नेकपाले १२ हजार ५ सय ४२ मत मात्रै पाएको छ। नेकपा एमालेका उम्मेदवार सरेश नेपालले प्रत्यक्षतर्फ ११ हजार ९ सय ७१ मत ल्याएका थिए भने समानुपातिकतर्फ एमालेले १० हजार २ सय २५ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर तामाङले प्रत्यक्षतर्फ ११ हजार २ सय १३ मत ल्याउँदा समानुपातिकतर्फ कांग्रेसले ९ हजार ६ सय २८ मत पाएको छ।
यस क्षेत्रमा १ लाख ३६ हजार ९ सय ८५ मतदाता रहेकामा ७४ हजार ३ सय ३७ जनाले मतदान गरेका थिए। तीमध्ये ३ हजार ४ सय ६२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
क्षेत्र नम्बर २ को परिणाम
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल २१ हजार ६ सय ९९ मतसहित विजयी भएका थिए। तर समानुपातिकतर्फ यस क्षेत्रमा पनि रास्वपा नै अग्रस्थानमा रहेको छ।
यस क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ २५ हजार ८ सय ७० मत प्राप्त गरेको छ, जुन प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार भलक श्रेष्ठले प्राप्त गरेको १४ हजार १९ मतभन्दा ११ हजार ८ सय ५१ बढी हो।
प्रत्यक्षतर्फ विजयी नेकपाले समानुपातिकतर्फ भने १२ हजार ८ सय ९७ मत मात्र प्राप्त गरेको छ। नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले प्रत्यक्षतर्फ १९ हजार १ सय ४६ मत ल्याएका थिए भने समानुपातिकतर्फ कांग्रेसले ९ हजार ६ सय २८ मत पाएको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले प्रत्यक्षतर्फ १५ हजार ९ सय २६ मत प्राप्त गर्दा समानुपातिकतर्फ एमालेले १० हजार २ सय ५५ मत प्राप्त गरेको छ।
क्षेत्र नम्बर २ मा १ लाख ३९ हजार ५ सय ८ मतदाता रहेकामा ७८ हजार ९ सय ३७ मत खसेको थियो। तीमध्ये ३ हजार १ सय ३९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।







