प्रधानमन्त्री शुशिला कार्कीले सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने आफूले देखेको बताएकी छन्। रासससग कुरा गर्दै उनले यो कुरा बताएकी हुन ।

‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने। अख्तियार देखाउने। केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने। त्यो मैले रद्दी देखेको छु। सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ,’ उनले कुराकानीमा भनेकी छन्।
नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्ने धारणा राखेकी छिन्। सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था पूरा गर्नुपर्ने उनको भनाइ छ।
‘सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ। भएका अवसरमा पनि नातावाद छ। यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ। खुलेआम भ्रष्टाचार रोख्नुपर्छ,’ उनले भनिन्।
समयमा कुनै परियोजना पूरा नहुने अवस्था विद्यमान रहेको उनले बताएकी छन्।
‘नेपाली हो भने त पीर पर्नुपर्छ नि । आज म दुःखपूर्वक भन्दै छु, हामीले कुनै सहयोग पाएनौं । तर हामीले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेपछि यसबीचमा अख्तियारले केही ठूला मुद्दा अघि बढाएको छ। ४०–४५ थान भ्रष्टाचारका मुद्दा यही सरकार आएपछि दर्ता गरेको छ। अन्यथा कतैबाट सहयोग भएन। कर्मचारीतन्त्र चुस्तदुरुस्त हुनुपर्छ। ठूलो क्रान्तिकारी कदम नै अब कर्मचारीतन्त्र सुधारका लागि चाल्नु आवश्यक देख्दछु। अहिलेकै तरिकाले त राम्रो छवि ल्याउने देखिँदैन,’ उनले भनेकी छन्।






