नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)ले नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।
सीआईबी प्रमुख एआईजी डा. मनोज केसीका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफाअनुसार गोल्छासहितको मिलेमतोमा सेयर बजारमा चलखेल भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।
नेपाल धितोपत्र बोर्डको प्रतिवेदनमा विभिन्न बीमा कम्पनीहरूको फन्ड प्रयोग गरी सेयरको मूल्य प्रभावित पार्ने कार्य भएको उल्लेख छ। प्रतिवेदनअनुसार विवादित व्यवसायी दीपक भट्टले सस्तोमा सेयर खरिद गरी मूल्य बढाएर बीमा कम्पनीहरूलाई बिक्री गर्ने गरेको देखिएको छ।
यस प्रकरणमा भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचानसमेत संलग्न रहेको बोर्डको निष्कर्ष छ। भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन् भने चाचान फरार छन्।
त्यस्तै, छानबिनले हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापिटलसम्बद्ध संस्था, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लगायत विभिन्न संस्था तथा व्यक्तिहरूको संलग्नता देखाएको छ। बोर्डले ती सबैमाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ।
प्रहरीले प्रकरणमा संलग्न अन्य व्यक्ति तथा संस्थामाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ।







