चौतारा : सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा इन्धन अभावले जनजीवन प्रभावित बनेको छ। नगरभित्र सञ्चालनमा रहेको एकमात्र जयमाता वनदेवी फ्युल स्टेसन बन्द भएपछि स्थानीयले पेट्रोल र डिजेलका लागि अन्य बजारको भर पर्नुपर्ने अवस्था आएको हो ।
इन्धन नपाउँदा निजी तथा सार्वजनिक सवारी सञ्चालन प्रभावित भएको छ भने व्यवसायीले पनि ढुवानीमा समस्या भोगिरहेका छन् । असार महिनाको रोपाइँ सुरु भइसकेको अवस्थामा ट्याक्टरका लागि डिजेल पेट्रोल अभाव भएपछि किसान थप चिन्तामा परेका छन् । समयमै खेत जोत्न नसक्दा खेतीपाती नै प्रभावित हुने अवस्था देखिएको उनीहरूको भनाइ छ ।
फ्युल स्टेसन सञ्चालक श्यामकृष्ण श्रेष्ठका अनुसार जग्गा र लगानीसँग जोडिएको विवाद समाधान हुन नसक्दा पम्प बन्द गर्नुपरेको हो । उनले प्रशासनको सक्रिय समन्वय भए समस्या समाधान गरेर पुनः सञ्चालन गर्न आफू तयार रहेको बताए ।
स्थानीयले चौताराजस्तो जिल्ला सदरमुकाममै इन्धनको अभाव हुनु दुःखद भएको भन्दै तत्काल वैकल्पिक आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूका अनुसार इन्धन भर्न टाढा जानुपर्ने बाध्यताले अतिरिक्त समय र खर्च मात्रै होइन, दैनिक कामकाजसमेत प्रभावित बनाएको छ ।







