सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–१२ स्थित बाहुनेपाटीको झोलुङ्गे पुलबाट इन्द्रावती नदीमा हामफालेपछि एक व्यक्ति बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका–१ निवासी अन्दाजी ३५–४० वर्षीय माईला तामाङ रहेका छन् । उनले आइतबार बिहान करिब ९ बजे मेलम्ची नगरपालिका–१२ र इन्द्रावती गाउँपालिकालाई जोड्ने झोलुङ्गे पुलबाट नदीमा हामफालेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक योगेश खरेलले जानकारी दिए ।
प्रहरीका अनुसार तामाङ हालसम्म फेला परेका छैनन् । उनको खोजीका लागि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको छ। इन्द्रावती नदीमा निरन्तर खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार तामाङ बाहुनेपाटीस्थित एक फर्निचर उद्योगमा ज्याला मजदुरी गर्दै आएका थिए । घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







