काठमाडौं : अविरल वर्षा, बाढी, पहिरोलगायत विपद्का घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको स्थानीय तह समन्वय शाखाले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई विपद्को समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित रहन निर्देशन दिएको छ ।
मन्त्रालयले साउन ४ गते जारी गरेको परिपत्रमा विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन संवेदनशील अवधिभर कार्यालय नछाड्न र नियमित रूपमा उपस्थित भई आवश्यक निर्णय तथा समन्वयमा सक्रिय रहन भनिएको छ ।
परिपत्रअनुसार हाल कुनै प्रकारको बिदामा रहेका कर्मचारीले समेत आवश्यक परे बिदा छोट्याएर सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, विपद्सम्बन्धी सूचना, उद्धार तथा राहत कार्य, क्षतिको विवरणलगायतका विषयमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग निरन्तर सम्पर्क र समन्वय कायम राख्न निर्देशन दिइएको छ ।

मन्त्रालयले विशेष परिस्थितिमा कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्था गरेपछि मात्र कार्यालय छाड्न सकिने व्यवस्था गरेको छ ।





