सिन्धुपाल्चोक : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य विष्णु विक्रम थापाले पार्टी फुट्ने–फुटाउने गतिविधितर्फ नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
चौतारामा नेपाली कांग्रेस सिन्धुपाल्चोकद्वारा बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रम तथा ‘जरा अभियान’ समापन समारोहलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र एकता कायम राख्न सबैलाई आह्वान गरेका हुन् ।
उनले आफू पनि गाउँ–गाउँ र टोल–टोलमा पुगेर पार्टी संगठन सुदृढीकरण अभियानमा सक्रिय हुने बताउँदै नेता तथा कार्यकर्तालाई संगठन विस्तार र सुदृढीकरणमा जुट्न आग्रह गरे।

थापाले बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै कांग्रेसले जोगाएको नेपालको अखण्डता र राष्ट्रिय स्वाभिमानमा आँच आउने गतिविधि भएको आरोप लगाए । त्यस्ता कार्यको कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए ।
उनले विगतमा कांग्रेस केही विषयमा अलमलिएको स्वीकार गर्दै अब सबै मतभेद अन्त्य गरी एकढिक्का भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।






