चौतारा : सिन्धुपाल्चोकमा कानुनी प्रक्रिया पूरा नगरी वर्षौंदेखि सञ्चालन भइरहेका दुई निजी अस्पताल र एक हेल्थ केयरमाथि प्रशासनले कडा कारबाही गरेको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरू नै अनुमति, दर्ता र नवीकरणबिना सञ्चालनमा रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पुगेको संयुक्त अनुगमन टोलीले तीन स्वास्थ्य संस्थामा सिल लगाएको हो ।
सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकाको किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र बलेफी गाउँपालिकाको पराजुली हेल्थ केयर प्रा.लि. लाई कानुनी प्रक्रिया उल्लङ्घन गरेको निष्कर्षसहित शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा ती संस्थाले आवश्यक इजाजत नलिई सेवा सञ्चालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको, अनाधिकृत रूपमा ल्याब र एक्स–रे सेवा चलाएको तथा सम्बन्धित निकायको पटक–पटकको निर्देशनसमेत बेवास्ता गरेको पाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रशासनका अनुसार ती संस्थालाई दुई पटकसम्म पत्राचार गरी कानुनी प्रक्रियामा आउन निर्देशन दिइएको थियो । तर अटेर गरेपछि जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ बमोजिम कारबाही गर्दै सिल गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले अब जिल्लाभर अनुगमनलाई अझ आक्रामक बनाउने संकेत दिएको छ । मापदण्डविपरीत सञ्चालन हुने तथा जनस्वास्थ्यमा खेलवाड गर्ने कुनै पनि स्वास्थ्य संस्था छुट नपाउने प्रशासनको चेतावनी छ ।
यसैबीच, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले पनि प्रदेशका १३ वटै जिल्लामा अनुगमन अभियान तीव्र पारिएको जनाएको छ । मन्त्रालयले कानुनभन्दा माथि कोही नहुने स्पष्ट पार्दै जनस्वास्थ्यलाई जोखिममा पार्ने संस्थामाथि कडा कानुनी कारबाही गरिने जनाएको छ ।







