कामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं: कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यससँगै चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो बैंक तथा वित्तीय संस्था बनेको छ ।
बैंकको सञ्चालक समितिको शुक्रबार बसेको ४१९औँ बैठकले साधारण सेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । साथै, अग्राधिकार सेयरधनीलाई सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्तसम्मको अवधिका लागि अनुपातिक आधारमा ९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।
गत आर्थिक वर्षमा बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत प्रतिफल वितरण गरेको थियो। यस वर्ष भने बैंकले पूर्ण रूपमा नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।
बैंकले समयमै लाभांश घोषणा गर्दै सेयरधनीप्रति आफ्नो उत्तरदायित्व र वित्तीय सुदृढता प्रदर्शन गरेको जनाएको छ ।







