काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गतका विभिन्न कम्पनीका १९१ वटा सवारीसाधनमा क्षति पुगेको महासंघले जनाएको छ ।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बाढीमा परी ती सवारीसाधनका चालक, सहचालक तथा यात्रुसहित ३४४ जना बेपत्ता भएका छन् ।
बाढीबाट बस, ट्रक, कन्टेनर, जीप, माइक्रोबस, टिपर तथा ट्रेलरसहितका सवारीसाधन प्रभावित भएका हुन् ।
महासंघको विवरणअनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुगेको छ । यससँगै ५० जना मजदुर बेपत्ता भएका छन् ।
नमस्ते पासाङ ल्हामु यातायात प्रालिका १९ बसमा क्षति हुँदा २१ जना, भक्तपुर न्यू भिजन यातायातका दुई कन्टेनरमा क्षति हुँदा दुई चालक बेपत्ता भएका छन् ।
त्यस्तै हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुगेको छ भने १० चालकको अवस्था अज्ञात छ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गतका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुगेको तथा ४५ चालक बेपत्ता रहेको महासंघले जनाएको छ ।
नारायणी यातायात व्यवसायी कम्पनीका ५९ ट्रक तथा कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् । नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा पनि क्षति पुगेको छ ।
यस्तै, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति हुँदा चालक र २२ यात्रु बेपत्ता छन् । धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति पुग्दा एक चालकसहित २५ तीर्थयात्री बेपत्ता रहेको महासचिव गौतमले बताएका छन् ।
बाढीपछि सवारीसाधनमा भएको क्षति र ठूलो संख्यामा मानिस बेपत्ता भएको विवरणले भोटेकोशी क्षेत्रमा भएको विपद्को प्रभाव यातायात क्षेत्रमा समेत गम्भीर रहेको देखाएको छ ।







