चौतारा : चाडपर्व नजिकिएसँगै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले मासु पसल तथा बधशालाको अनुगमनलाई तीव्रता दिएको छ ।
नगर उपप्रमुख सीता थापाको नेतृत्वमा नगरपालिकाको टोलीले सुकुटे, साँगाचोकलगायतका बजार क्षेत्रमा सञ्चालित मासु पसल तथा बधशालाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मासुको गुणस्तर, बिक्रीस्थलको सरसफाइ, मासु राख्ने तथा भण्डारण गर्ने तरिका, बधशालाको अवस्था, व्यवसाय दर्ता तथा सञ्चालनको कानुनी प्रक्रियालगायतका विषयमा निरीक्षण गरिएको थियो ।
चाडपर्वमा मासुको खपत बढ्ने भएकाले उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु पाउने वातावरण बनाउन अनुगमनलाई प्राथमिकता दिइएको नगर उपप्रमुख थापाले बताउनुभयो। उहाँका अनुसार अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न व्यवसायीलाई तत्काल सचेत गराइएको छ।
“अहिले सुधारका लागि सचेत गराएका छौँ। आगामी अनुगमनमा पनि नियमअनुसार सञ्चालन नगरेको पाइए नियमानुसार कारबाही गरिनेछ,” उपप्रमुख थापाले भन्नुभयो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँले मासु पसल तथा बधशालामा स्वच्छता कायम गर्नु व्यवसायीको मुख्य जिम्मेवारी भएको बताउनुभयो। उहाँले मासुको सुरक्षित भण्डारण, बिक्रीस्थलको सरसफाइ र स्वच्छ बिक्री प्रणालीमा विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो।
यसअघि बुधबार नगरपालिकाले वडा नम्बर ५ र ७ मा सञ्चालित ११ वटा मासु पसल र दुईवटा बधशालाको अनुगमन गरेको थियो। उक्त क्रममा पनि सरसफाइ तथा व्यवस्थापनमा सुधार गर्नुपर्ने अवस्था देखिएको नगरपालिकाले जनाएको छ ।
अनुगमन टोलीमा वडा नम्बर ५ का अध्यक्ष शिव श्रेष्ठ, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रहरी, पशु कार्यालयका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए ।
चाडपर्वमा खाद्य वस्तुको माग बढ्ने भएकाले नियमित बजार अनुगमनसँगै व्यवसायीको जिम्मेवारी र उपभोक्ताको सचेतना पनि आवश्यक रहेको सरोकारवालाको भनाइ छ । स्वच्छ र सुरक्षित खाद्य वस्तुको उपलब्धता सुनिश्चित गर्न अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।







