सिन्धुपाल्चोकको राजनीतिक परिदृश्य अहिले हेर्न लायक छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि मोहनबहादुर बस्नेतको राजनीतिक भविष्य कमजोर हुने अड्कल लगाइएको थियो । तर, यसको विपरीत उनी अझ क्रियाशील हुँदै हरेक भूगोलमा देखिन थालेका छन् । यतिबेला जिल्लामा बस्नेतको उपस्थिती र नेतृत्व प्रभाव पूर्ववत् मात्र होइन, अझ तीब्र भएको छ ।

काँग्रेसको संघीय राजनीति मात्र होइन, स्थानीय तहमा समेत बस्नेत निर्विकल्प नेता बनेका छन् । ‘काँग्रेस भनेको मोहन र मोहन भनेको काँग्रेस’ भन्ने धारणा सिन्धुपाल्चोकको छ । संघीय संसदमा दुई र प्रदेशमा चार सांसद रहेको यो जिल्लामा नेपाली काँग्रेस र माओवादीको गठबन्धनले समान तीन–तीन सिट जितेका छन् । तर, स्थानीय तहमा काँग्रेस एक्लै बलियो बनेको छ, जुन परिणाम बस्नेतको व्यक्तिगत लोकप्रियता र संगठनात्मक पकडको प्रमाण भएको बस्नेतका अनुयायीहरुको दावी छ ।
अहिलेको परिस्थितिमा माओवादीहरू एक संघीय र दुई प्रदेशमा जित्दा पनि रक्षात्मक अवस्थामा देखिन्छन् । अर्कोतर्फ, एमालेको संगठनात्मक संरचना बलियो देखिए पनि नेतृत्वको गतिशीलता कमजोर हुँदा यो पार्टी अपेक्षित सक्रियता देखाउन सकिरहेको छैन । एमाले कार्यकर्ताले संगठनलाई जीवन्त बनाइराखेको भए पनि शीर्ष नेतृत्वको आन्तरिक गुटबन्दी र तालमेलको कमीले पार्टीलाई निष्क्रिय बनाएको छ ।
नेपाली काँग्रेस – मोहनकै दबदबा
बस्नेतको नेतृत्व शैली र व्यक्तिगत पहुँच सिन्धुपाल्चोकमा काँग्रेसको सफलता र विफलताको मुख्य आधार बनेको देखिन्छ । एक नम्बर निर्वाचन क्षेत्रमा उनले कहिले विजय त कहिले पराजयको अनुभव बटुलेका भए पनि अहिले उनी दुई नम्बर क्षेत्रबाट निर्वाचित भई आफ्नो प्रभाव कायम राख्न सफल छन् । माओवादीसँगको गठबन्धनले उनको जितलाई सहज बनाएको भए पनि बस्नेत आफ्नै लोकप्रियता र काँग्रेसको सुदृढ संरचना नै निर्णायक रहेको दाबी गर्छन् ।
एमालेको सांगठनिक आधार बलियो भए पनि शेरबहादुर तामाङ नेतृत्व क्षमतामा कम प्रभावकारी देखिनुले काँग्रेसको प्रभाव बढाएको छ । तामाङ जातीय समर्थन पाए पनि उनले पार्टीभित्र स्पष्ट नेतृत्व र जनतामाझ प्रभाव जमाउन नसकेको काँग्रेस र तटस्थ मतदाताको बुझाइ हो ।
सांसद पद निलम्बनमा रहँदा पनि मोहन बस्नेतको उपस्थिती कुनै अन्य दलका नेताभन्दा बढी छ । चीनमा अलपत्र परेका नेपालीहरूको तातोपानी नाकामा स्वागत गर्ने दृश्य होस् वा जिल्लाका विपत्तिपूर्ण घटनास्थलमा तत्काल पुग्ने उनका सक्रियता – यी सबैले बस्नेतलाई सदैव ‘फ्रन्टलाइन’ नेता बनाएर उभ्याएको छ । यद्यपि कतिपय समयमा उनको ‘फण्डा’ शैली (अनावश्यक प्रदर्शन र विवादास्पद हर्कत) आलोचित छ ।
बस्नेतको पार्टीभित्र पनि एकता छैन भन्ने उदाहरण पनि कम छैन । काँग्रेस सिन्धुपाल्चोकका सभापतिदेखि लिएर उनको गृहनगरका नेता तथा बागमती प्रदेश काँग्रसका सहमहामन्त्री हरिशरण श्रेष्ठले सामाजिक सञ्जालमै उछालिएका आलोचनात्मक टिप्पणीहरूले बस्नेतविरुद्ध आन्तरिक असन्तोषको संकेत दिएका छन् । तर, यी विवादहरूबीच पनि बस्नेतले एमालेको निष्क्रियता र माओवादीको कमजोर अवस्थाको पूर्ण लाभ उठाइरहेको देखिन्छ ।
नेकपा (एमाले) – सांगठनिक बल तर नेतृत्व संकट
एमाले संघीय संसद र प्रदेश सभामा सिटविहीन रहनु यस पार्टीका लागि ठूलो चुनौती हो । तर, स्थानीय तहमा यसको मत आधार अझै मजबुत छ । यसकारण एमालेको राजनीतिक अस्तित्व कमजोर छैन ।
यद्यपि पछिल्ला केही वर्षमा पार्टी गतिविधि, कार्यक्रम र संगठनात्मक ऊर्जा झिनो भएको छ । पुरानै गुटबन्दीको असर अझै पार्टीभित्र जीवित छ । विद्या भण्डारी र केपी ओलीको पछिल्लो विवादले अहिले अर्को खाडल बनाईदिएको छ । अमृत वोहोरा अभिभावकत्वमा पार्टी एकताबद्ध देखिए पनि अहिले अरुण नेपाल र सरेश नेपालको गुटीय प्रतिस्पर्धाले संगठनलाई कमजोर पारेको छ ।
जिल्ला कमिटी पनि स्पष्ट दिशाहीन देखिन्छ । जिल्ला समस्या र जनचासोभन्दा बढी आन्तरिक शक्ति सन्तुलनमा रमाउने प्रवृत्तिले एमालेलाई पछाडि धकेलेको छ । शेरबहादुर तामाङजस्तो नेता, जो आफ्नो जातीय आधारमा बलिया मानिन्छन्, उनले पनि व्यापक संगठनात्मक नेतृत्व देखाउन सकेका छैनन् । विद्या र ओलीबीचको विभाजित धारले पनि कार्यकर्ताहरू अलमलमा पारेको छ ।
माओवादी- निरीहताको छायाँ
माओवादीको संगठनात्मक हैसियत अरु दुई दल भन्दा कमजोर छ । उनीहरू कहिले काँग्रेस र कहिले एमालेसँग गठबन्धन गर्दै सत्तासम्म पुग्ने रणनीतिमा निर्भर छन् ।र, जनप्रतिनिधि बनिरहेका छन् ।
अग्नि सापकोटाले सभामुखसम्मको यात्रा गरे पनि जिल्लामा विकासका ठोस कामको नेतृत्व गर्न नसकेको आरोप माओवादीले भोगिरहेको छ । पुष्पकमल दाहालको खास भित्रिया बनेर सांसदमा प्रस्तुत भएपनि दाहाल नेतृत्वको सरकार हुँदा जिल्लामा अपेक्षित काम नगरेको कारण सांसद माधव सापकोटाप्रति पनि प्रश्न उठाइएको छ ।
सामाजिक सञ्जालमा प्रसारित माओवादी नेता माधव सापकोटाको आवाज – जसमा उनले बस्नेतलाई ‘आफ्नो नेता’ भनेको उल्लेख छ – अझै चर्चामा छ । यसले माओवादीको निरीह अवस्था थप उजागर गरेको छ ।
भोटेकोशी, बाह्रबिसे, त्रिपुराजस्ता स्थानीय तहमा सापकोटाको उपस्थिति नाजूक छ । आफ्नै क्षेत्रमा पनि गतिलो उपस्थिति नहुनुले प्रश्न खडा गर्छ नै ।
‘बस्नेतका अगाडि सापकोटा गरुडको छायाँमा परेका सर्पझैँ कमजोर देखिन्छन्’ भन्ने धारणा जनस्तरमा बलियो छ ।
समग्रमा,
सिन्धुपाल्चोकको राजनीतिक समीकरणलाई हेर्दा मोहन बस्नेतको अराजक शैली, एमाले–माओवादीको आन्तरिक कमजोरी स्पष्ट देखा पर्छ । एमालेको सांगठनिक शक्ति भए पनि नेतृत्वगत शिथिलताले यसको जनमतलाई प्रभावकारी रूपमा सक्रिय बनाउन सकेको छैन । माओवादी भने गठबन्धन र अन्य दलको छायामा टेकेर टिक्ने पार्टीको रूपमा मात्र देखिन्छ । यो सेरोफेरोमा बैकल्पिक शक्ति वा राप्रपाको उपस्थितिले राजनीतिकको फरक ढंगले चक्का गुड्ने अवस्था आउन सक्छ । अझ, मोहन बस्नेत भ्रष्टाचार मुद्धामा दोषी देखिए सिन्धुको राजनीतिले अर्को कोल्टे फेर्ने अवस्था छ ।






