निक्कै तातेको नेकपा ( एमाले ) भित्रको राजनीति केही मत्थर देखिन्छ । पार्टी भित्र स्पष्ट रेखा कोरिने किसिमको अवस्था देखिएको एमाले विवादमा सुनसान हुनुले खास केही सङ्केत देखा पर्दछ । आँधी अघिको सन्नाटा वा साँच्चै साम्यको अवस्था भने यकिन गर्न सकिने अवस्था छैन । किनभने विद्या भण्डारीको सदस्यताको विवाद अझै निचोडमा पुगेको छैन । अहिलेलाई थाँती राखिएको निर्णय भएपनि राष्ट्रपतिबाट फर्किएपछि सदस्यता नवीकरण भइसकेको अवस्थामा कानुनी उपचार खोज्ने हो भने पार्टी निर्णय खारेज हुनसक्ने आधारहरू छन् । तर, पूर्वराष्ट्रपतिले यो बाटो अपनाएको देखिँदैन । त्यसकारण पनि यो विषयको उठान वा बैठानका बारे अझै स्पष्ट खाका कोरिएको छैन ।

तर, नेकपा ( एमाले ) अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा देखाएको राजनीतिक रणनीतिले फेरि एकपटक उनको नेतृत्वशैलीप्रति प्रश्न र चासो दुवै बढाएको छ । चीन भ्रमणमा एमाले नेताकै हैसियतमा विद्या भण्डारीलाई पठाउने, फर्किएपछि उनलाई अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लगाउने र त्यसैको फाइदा उठाउँदै भारतलाई सन्देश पठाउने ओलीको यो बहुआयामिक कदमलाई विश्लेषकहरूले “नियन्त्रण र सन्तुलनको राजनीतिक खेल” का रूपमा हेरेका छन् ।
भण्डारीलाई चीन पठाउने निर्णय औपचारिक मात्र थिएन । उनलाई एमाले नेताकै पहिचानमा पठाइएको थियो, जसले चीनसँगको सम्बन्धलाई सुदृढ बनाउने सन्देश दियो । फर्किएलगत्तै भण्डारीले अध्यक्ष पदमा उठ्ने घोषणा गरिन् । यो घोषणा देख्दा व्यक्तिगत महत्त्वाकाङ्क्षा जस्तो लागे पनि त्यसको पृष्ठभूमिमा ओलीको योजनाबद्ध रणनीति रहेको देखिन्छ । चीनमै भण्डारीको राजनीतिक पुनरागमन भएको सन्देश पार्टीभित्र फैलनु ओलीकै हितमा परेको छ ।
ओलीले चीनमार्फत भण्डारीलाई उचालिएको देखाउँदै भारतलाई सन्देश पठाए— “चीनले वैकल्पिक नेतृत्व उचाल्दैछ, तर म अझै निर्णायक छु ।” यसपछि भारत भ्रमणको निम्तो लिन सफल भएका ओलीले आफ्नो कूटनीतिक सन्तुलन पुनःस्थापित गरे । यसले देखाउँछ कि ओलीले छिमेकी शक्तिहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिमा पनि उत्तिकै प्रभावकारी ढङ्गले प्रयोग गर्छन् । यसका लागि नजिककै मान्छे प्रयोग गर्छन् ।
भण्डारीलाई अघि सार्ने ओलीको शैलीले पार्टीभित्र अर्को गुट खडा हुन दिएन । सरकारसँग असन्तुष्ट बनेका नेताहरू भण्डारीसँग भेट्न पुगे । तर ती भेटवार्ताबाट व्यक्त असन्तुष्टि भण्डारी मार्फत ओलीसम्म पुग्यो । यसरी असन्तुष्ट नेताहरूले आफूलाई अभिव्यक्त गरेको महसुस गरे पनि वास्तविक नियन्त्रण ओलीकै हातमा रह्यो । अझ विपक्षी दलका नेताहरु पनि भण्डारीसँग भलाकुसारी गर्न पुगे । त्यसले पनि ओलीलाई सूचनाको मद्धत पुगेको स्पष्टै देखिन्छ ।
यस घटनामा भण्डारी दुई भूमिकामा देखिन्छिन्—एकातिर अन्तर्राष्ट्रिय उपस्थितिका लागि उचालिएकी नेताको रूपमा, अर्कोतिर ओलीको रणनीतिक खेलमा सूचनाको स्रोतका रूपमा । उनको यो कामले उनी वैकल्पिक शक्ति झैं देखिइन्, तर अन्ततः त्यो शक्ति ओलीकै नियन्त्रणमा सीमित रहेको बिश्लेषण हुन थालेको छ ।
विश्लेषकहरूका अनुसार, यो घटनाक्रम ओलीको नेतृत्वशैलीलाई तीन कोणबाट बुझ्न सकिन्छ । पहिलो, उनले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई आफ्नो पक्षमा प्रयोग गर्ने क्षमता देखाएका छन् । दोस्रो, पार्टीभित्रको गुटबन्दीलाई अवसरका रूपमा रूपान्तरण गर्न सक्ने सीप उनीसँग छ । र तेस्रो, उनले सहकर्मी नेताहरूलाई उचाल्दै, तर नियन्त्रण गर्दै नेतृत्वलाई मजबुत बनाउने प्रवृत्ति कायम राखेका छन् ।
तर यसले अर्को प्रश्न पनि खडा गरेको छ—पार्टीभित्र वैकल्पिक नेतृत्वको विकास कसरी सम्भव हुन्छ ? पूर्वराष्टपति भण्डारीजस्ता नेताहरूलाई बारम्बार साधनका रूपमा प्रयोग गर्दा पार्टीको शक्ति दीर्घकालीन रूपमा व्यक्तिगत नियन्त्रणमा केन्द्रित हुने खतरा बढ्छ । अझ पार्टीका अन्य पदाधिकारीलाई माखो बरावर नमान्ने प्रवृत्तिले निरंशकुताको छनक दिन्छ ।
बैकल्पिक नेतृत्व विद्या
ओलीको स्वास्थ्य र उमेरका कारण पनि एमालेभित्र वैकल्पिक शक्तिको आवश्यकता देखिन्छ । यो कुरा आलीलाई पनि ज्ञान छ । चतुर खेलाडी ओलीले पार्टी जो सुकैलाई सुम्पने अवस्था देखिँदैन । दोस्रो वरियतामा रहेका इश्वर पोखरेल वा अन्य उपाध्यक्षहरुलाई पनि ओलीले पत्याएको अवस्था छैन ।
नेतृत्वको तीव्र चाहना राखेका शंकर पोखरेल ओली र विद्याको रोजाईको पात्र थिए । तर, उनले महासचिवको रुपमा गरेको कामले बिश्वास दिलाएन । अझ भनौ, माहाधिवेशनमा चुनाव हुँदा शंकरले जित्ने अवस्था देखिएन । त्यसकारण पनि वैकल्पिक नेताको रुपमा विद्यालाई अघि बढाउने ओली चाहन्छन् । तर, सहजरुपमा विद्यालाई ल्याउन ओलीलाई सजिलो छैन । त्यसकारण बिभिन्न जाल बुनेर एमालेको नेतृत्व विद्यालाई सुम्पने योजना ओली रहेको अनुमान गर्न सकिन्छ ।
केन्द्रीय कमिटीको बैठकबाटै विद्यालाई उच्च सम्मान र बखान गर्नुले पनि विद्याको एमाले पुनरागमनमा सजिलो बनाएको अनुमान गर्न कठिन छैन ।






