श्री जय पाल्चोकी यातायात प्रा.लि.को औपचारिक उद्घाटन सम्पन्न भएको छ।
मेलम्चीमा आयोजित कार्यक्रमबिच उक्त यातायात प्रालिद्वारा संचालित इभि भ्यानको औपचारिक सुरुवात गरिएको हो ।
उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस भेगका नागरिकले सहज र सुरक्षित यातायात सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यातायात कम्पनी नाफामुखी भए पनि सेवा र सुविधामा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

नगर उपप्रमुख उमा प्रधानले इभि गाडी वातावरणमैत्री भएको बताउँदै यसले पेट्रोल–डिजेल गाडीको प्रयोग घटाउने, जलविद्युतको सदुपयोग गर्ने र प्रदूषण नियन्त्रणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिन ।
समाजसेवी बालकृष्ण देउजाले यात्रुलाई सक्दो सुविधा उपलब्ध गराउन र गुनासो सम्बोधन गर्दै अघि बढ्न आग्रह गरे ।
वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले यातायात सेवा नाफामुखी मात्र नभई सेवामुखी बन्नुपर्नेमा जोड दिए । अस्थायी ट्राफिक प्रहरी पोष्टका हवल्दार बिनोदकुमार गिरीले ट्राफिक नियम पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरे ।
सोकुनका प्रतिनिधि राममणी सिग्देलले कार्यक्रममा इभि भ्यान सम्बन्धी प्राविधिक जानकारी प्रस्तुत गर्दै, यसमा न्यूनतम मर्मत खर्च, कम सञ्चालन लागत र छोटो दुरीमा सहज सेवा दिने क्षमता रहेको जानकारी दिए ।
यातायात प्रा.लि.का अध्यक्ष राजन दुलालले कम्पनीले अहिले मेलम्ची -काठमाडौ र केहि समयमा मेलम्चीसंगै हेलम्बु, पाँचपोखरी, इन्द्रावती, मण्डन देउपुर र शंकरापुर नगरपालिकामा नियमित सेवा उपलब्ध गराउने जानकारी दिए ।






