सिन्धुपाल्चोक ।
ईलेक्ट्रो पावर कम्पनीले निर्माण गरिरहेको ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजना महत्वपूर्ण चरण पार गरेको छ। करिब ८ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन यस आयोजनाको २ हजार ३ सय ३८ मिटर लामो सुरुङको ‘ब्रेकथ्रु’ कार्य सम्पन्न भएको हो।

सुरुङ ब्रेकथ्रु तथा उद्घाटन स्विच अन गर्ने कार्यक्रम सोमबार आयोजना स्थलमा सम्पन्न भएको थियो। जिसस प्रमुख बालकृष्ण श्रेष्ठ र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले संयुक्त रूपमा स्विच अन गरेर सुरुङको उद्घाटन गरेका थिए ।
आयोजनाले आगामी सात महिनाभित्र उत्पादन गरिएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारी गरेको कम्पनीले जनाएको छ। यस आयोजनाबाट राष्ट्रिय ग्रिडमा थप विद्युत आपूर्ति हुने भएकाले ऊर्जा सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहका प्रतिनिधिहरूले आयोजना सञ्चालनमा आउँदा रोजगारी, सडक र पूर्वाधार सुधार तथा स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।






