जेनजी आन्दोलनपछि उग्ररुपमा एमाले अध्यक्ष केपी ओलीको पक्षमा लागेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।

बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका उनलाई मंगलवार पक्राउ गरिएको हो ।
ताप्लेजुङका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो। शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्।
बहुविवाहको मुद्दामा ३ वर्ष पहिले नै अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र ५ हजार रुपैयाँ जरीवाना तोके पनि शक्तिको आडमा अदालतलाई अटेर गर्दै बसिरहेका थिए। तर मंगलबार उनलाई सजाय भुक्तानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो।
शेर्पालाई प्रहरीले सजाय भुक्तानका लागि बुधबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने एसपी भट्टराईले जानकारी दिए।






