नेपाली कांग्रेसभित्र गरिएको भनिएको ‘विशेष महाधिवेशन’ लाई लिएर पार्टीभित्र असन्तोष चुलिँदै गएको छ। यही क्रममा कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उक्त प्रक्रियालाई “संगठित रूपमा पार्टी कब्जा गर्ने षड्यन्त्र” भन्दै खुलेर विद्रोहको घोषणा गरेका छन्।
फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै शेर्पाले सीमित समूहले विधान, लोकतान्त्रिक अभ्यास र संगठनात्मक मर्यादालाई कुल्चँदै पार्टी संरचना कब्जा गरेको आरोप लगाए। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा निर्णायक प्रभाव राख्ने नेता शेर्पाको असहयोग रहे आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जित निकाल्न कठिन हुने आँकलन कार्यकर्ताहरू स्वयंले गर्न थालेका छन्।
शेर्पाका अनुसार ‘विशेष महाधिवेशन’ को नाममा गरिएको प्रक्रिया लोकतन्त्र होइन, बल प्रयोगद्वारा सत्ता कब्जाको अभ्यास हो। “आज कांग्रेसभित्र यस्तो नजिर बस्यो भने भोलि पार्टी नै केही व्यक्तिको निजी सम्पत्ति बन्नेछ,” उनले चेतावनी दिएका छन्।
उनले महाधिवेशनमा जम्मा १३३७ जना मात्र भौतिक रूपमा उपस्थित रहेको दाबी गर्दै यति सीमित संख्याको बलमा सम्पूर्ण पार्टी नेतृत्व उल्ट्याउनु नै लोकतन्त्रको उपहास भएको टिप्पणी गरे। “कसले अधिकार दियो? कसरी प्रतिनिधि तय गरिए? यी सबै प्रश्नहरू आजसम्म जवाफविहीन छन्,” शेर्पाले उल्लेख गरेका छन्।
शेर्पाले निर्वाचन आयोगमाथि समेत गम्भीर प्रश्न उठाउँदै प्रतिनिधिहरूको हस्ताक्षर, वैधानिकता र प्रक्रियामाथि पर्याप्त छानबिन नगरी मान्यता दिएको आरोप लगाए। उनका अनुसार यो केवल पार्टीभित्रको विषय नभई सम्पूर्ण लोकतान्त्रिक अभ्यासमाथिको गम्भीर चुनौती हो।
उनले प्रश्न गरे, “कांग्रेस केन्द्रीय समितिले नबोलाएको विशेष महाधिवेशन दुई जना महामन्त्रीले बोलाउन पाउने अधिकार विधानको कुन धाराले दिन्छ? यदि कानुनी आधार छ भने सार्वजनिक गरियोस्, नभए यो खुला रूपमा अवैधानिक कदम हो।”
शेर्पाले अवैधानिक प्रक्रियाबाट बनेको समितिलाई आफूहरूले कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट पारे। साथै, त्यही समितिले बाँडेको टिकटबाट उम्मेदवार बनेकाहरू नैतिक र राजनीतिक रूपमा वैध नहुने उनको दाबी छ।
“यस्ता उम्मेदवारका लागि भोट माग्नुपर्ने बाध्यता सच्चा कांग्रेसजनलाई छैन,” उनले भने, “यो लडाइँ कुनै व्यक्ति वा गुटविरुद्ध होइन, पार्टीभित्र संस्थागत हुँदै गएको गलत प्रवृत्तिविरुद्ध हो।”
उनले आफूहरूको संघर्ष पार्टी विभाजनका लागि नभई कांग्रेसलाई विचार, विधान र इतिहासतर्फ फर्काउने अभियान भएको स्पष्ट पारे। संस्थापक नेताहरूको आदर्शमा विश्वास गर्नेहरूका लागि यस्तो प्रक्रियाबाट आएको टिकट लिनु नै राजनीतिक आत्मसमर्पण भएको टिप्पणी पनि उनले गरेका छन्।
महाधिवेशन गरेर पनि चुनावमा नउत्रने नेताहरूको भूमिकाप्रति कटाक्ष गर्दै शेर्पाले पार्टीलाई संकटमा पारेर सुरक्षित बस्ने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाएको आरोप लगाए।
अन्त्यमा उनले सम्पूर्ण कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूलाई आह्वान गर्दै भने,
“गलतलाई स्वीकार गर्नु अपराध हो। कांग्रेस जोगाउन अब चुप बस्ने समय सकियो।”







