नेपालको सङ्घीय लोकतान्त्रिक संरचनाले संसदलाई नीति निर्माणको थलोको रूपमा परिभाषित गरेको छ । संविधानले संसदलाई कानून बनाउने, बजेट अनुमोदन गर्ने, सरकारलाई जवाफदेही बनाउने र राष्ट्रिय प्राथमिकता निर्धारण गर्ने जिम्मेवारी दिएको छ । तर व्यावहारिक पाटो हेर्दा विगत यतिका वर्षमा संसदले अपेक्षित भूमिका निर्वाह गर्न सकेन । संसदको बहस, कार्यशैली र उत्पादन हेर्दा यो कुरा अझ स्पष्ट हुन्छ ।
कांग्रेस, एमाले, माओवादी लगायतका दलहरूबाट पटक–पटक निर्वाचित भएका सांसदहरूले राजनीतिक स्थिरता, नीति निर्माण र कार्यान्वयनका क्षेत्रमा खास सफलता देखाउन सकेनन् । जनअपेक्षा–अनुसार कानून निर्माण, नीतिगत सुधार र भविष्यको दिशानिर्देशन गर्नुपर्ने संसद कहिलेकाहीँ गालीगलौज, आरोप–प्रत्यारोप र छेडखानीमा सीमित भएको छ ।
जनताले मत दिएको प्राथमिक भूमिका नीति निर्माण स्वयं सांसदहरूको प्राथमिकताबाट हराएको छ । धेरै सांसदहरूको त विषयगत ज्ञान अभाव, कानून र शासन व्यवस्थाको ज्ञान नै देखिएन । जस्ता कमीकमजोरी खुलेर देखिने गरेका छन् ।
नीति भनेको ज्ञान, अनुसन्धान र विश्लेषणले तयार हुने उत्पादन हो । आजको जटिल समाजलाई सम्बोधन गर्ने नीति बनाउन अर्थशास्त्र,समाजशास्त्र,व्यवस्थापन,कानून,स्वास्थ्य र प्रविधि जस्ता विषयमा दक्ष मानिस चाहिन्छ । विकसित लोकतन्त्रहरूमा संसदमा डाक्टर, इन्जिनियर, अर्थशास्त्री, कानूनविद्, अनुसन्धानकर्ता, प्राध्यापकको सहभागिता सामान्य कुरा हो । नेपालमा भने दलगत कोटा, निष्ठाले उम्मेदवारी निर्धारण गर्ने प्रचलनले योग्य र पढ़े–लेखेका व्यक्तिहरूलाई पछाडि पार्दै आएको छ ।

विगत ३ दशकको लोकतान्त्रिक अभ्यासले देखाएको अर्को तथ्य के हो भने बारम्बार संसदमा पुग्ने पुरानै नेताहरूको अनुभवबाट मात्र सुधार सम्भव रहेन । अनुभवले सक्षम बनाउनु पर्छ तर दृष्टिकोण पुरानो रहेको छ । नीतिगत पहल कमजोर भएको छ । लागू गर्ने र अनुगमन प्रणाली अस्तव्यस्त छ ।
त्यसैले अब पुरानालाई घुमाइ–फिराइ पठाउनेभन्दा पनि योग्यता, अध्ययन, क्षमता र भविष्य दृष्टि भएका व्यक्तिहरूलाई अघि ल्याउनु अपरिहार्य देखिन्छ ।
समकालीन सन्दर्भमा पीएचडी अध्ययनरत भरत पराजुली जस्ता उमेर, सीप, अध्ययन र दृष्टि भएका पात्रहरू संसदका लागि उपयुक्त पात्र हुन् ।
विषयगत ज्ञान,अध्ययन र तथ्यमा आधारित तर्क,भविष्यको नीति सोच,व्यवहारिक दृष्टिकोण, जिम्मेवारीबोध उनीमा पाइन्छ ।
विगतका सांसदहरूले पुरा गर्न नसकेको भूमिकालाई नयाँ पुस्ता र शिक्षित पात्रले प्रभावकारी रूपमा सिंहावलोकन र संरचना गर्न सक्ने सम्भावना छ । नेपालको राजनीतिक संक्रमण अब स्थायित्वको चरणमा प्रवेश गरिरहेको समय हो । यस चरणमा संसदमा वाक्पटुता भन्दा नीतिगत दृष्टि, राजनीतिसँगै ज्ञान, र आरोप–प्रत्यारोपभन्दा समाधान निर्माण गर्ने पात्र आवश्यक छन् । दलगत भावनाले होइन, देशको नीतिगत आवश्यकताले योग्य नेतृत्व चयन गर्ने समय आएको छ ।






