नेकप (एमाले) केन्द्रीय कमिटी सदस्य एवं सिन्धुपाल्चोक जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटी संयोजक हस्त पण्डितले लोकतन्त्रपछिको नेपालको विकासमा एमालेले ठूलो योगदान दिएको उल्लेख गर्दै एमाले नै देशको सर्वोत्कृष्ट पार्टी भएको बताएका छन्। नयाँ पार्टीका नेताहरूले एमालेविरुद्ध गरेको दुष्प्रचार धेरै दिन नटिक्ने पनि उनले स्पष्ट पारे।
नेकपा (एमाले) संघीय निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा (ख) द्वारा मेलम्चिमा आयोजित अगुवा कार्यकर्ता भेलामा मन्तव्य राख्दै पण्डितले पार्टीविरुद्ध फैलाइएका भ्रम चिर्दै देश जलाउने प्रवृत्तिलाई पराजित गरेर देश बनाउने शक्तिलाई विजयी गराउनु एमाले कार्यकर्ताको कर्तव्य भएको बताए।
आज सम्पन्न उक्त अगुवा कार्यकर्ता भेला प्रदेशसभा (ख) का संयोजक निर्मल बन्जाराको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलाको सञ्चालन मेलम्ची नगर कमिटी सचिव सालिकराम अधिकारीले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी संयोजक हस्त पण्डित र विशेष अतिथि केन्द्रीय सदस्य डोल्मा तामाङ रहेका थिए।
भेलामा जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भण्डारी, जिल्ला कमिटी सचिव कृष्णगोपाल तामाङलगायत जिल्ला कमिटी सदस्यहरू, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका अगुवा कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको निर्वाचन परिचालन कमिटी सचिव कृष्णगोपाल तामाङले जानकारी दिए।
भेलामा संयोजक पण्डितले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनमा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई एकताबद्ध भएर लाग्न निर्देशन दिएका थिए। उक्त जानकारी कार्यक्रममा सहभागी एमाले हेलम्बु गाउँ कमिटी अध्यक्ष सरोज गजुरेलले गराएका हुन्।







