रुपन्देही । लुम्बिनी विकास कोष क्षेत्रका स्थानीयले विगतदेखि नै कोष भ्रष्टाचारको अखडा बन्दै आएको आरोप लगाउँदै आएका छन्। उनीहरूले डा. ल्हाक्र्याल लामा आएपछि कोषभित्र थप अनियमितता र भ्रष्टाचार बढेको दाबी गरेका छन्।
यसै विषयलाई लिएर लुम्बिनी प्रदेश सभामा सांसद सिके गुप्ताले औपचारिक रूपमा ध्यानाकर्षण गराएका छन्। सभाको बैठकमा बोल्दै सांसद गुप्ताले कोषभित्र करोडौं रुपैयाँको भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसले अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक असर पार्न सक्ने भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका गुप्ताले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–५ (२) अन्तर्गत पर्ने लुम्बिनी विकास कोष क्षेत्रका स्थानीयले भ्रष्टाचार र बेथितिविरुद्ध पटक–पटक आन्दोलन गर्दा पनि कोषले कुनै सुनुवाइ नगरेको बताए।
पूर्व प्रदेशमन्त्री समेत रहेका गुप्ताले लुम्बिनी धार्मिक तथा पर्यटकीय ऐतिहासिक धरोहर भएकाले यसको गरिमा जोगाउन आफू संसदमा बोल्न बाध्य भएको उल्लेख गरे। उनले कोषका उच्च अधिकारीहरूको मिलेमतोमा व्यापक भ्रष्टाचार भइरहेको आरोप लगाउँदै त्यसले भविष्यमा पार्ने असरप्रति प्रदेश सभाको ध्यानाकर्षण गराए।
“कुनियतका साथ आएको वर्तमान नेतृत्वले स्थानीयलाई मात्र होइन, भिक्षुहरूलाई समेत बाइपास गर्दै गैरकानुनी काम गरिरहेको छ,” गुप्ताले भने।
उनले भ्रष्टाचारका लागि अनुकूल व्यक्तिहरूलाई नियुक्ति गर्ने, स्थानीय र भिक्षुहरूलाई पहुँचबाट टाढा राख्ने, तथा कर्मचारी व्यवस्थापनमा पक्षपात गरिएको आरोप पनि लगाए।
सांसद गुप्ताले कमिसनको प्रलोभनमा कोषको ऐतिहासिक संग्रहालय भत्काइएको दाबी गर्दै त्यसको निर्माण कार्य कुरुप र मापदण्डविपरीत भएको बताए। उनले ‘सुमिङ्मा’ नामक एक महिलासँग सम्झौता गरिएको र ज्ञानेन्द्र राईमाथि कारबाही हुनुपर्ने माग समेत गरे।
त्यस्तै, कोषअन्तर्गत पर्ने पश्चिम विहार थाउजेन्ट गुम्बा वरिपरि १४० कोठाको आवासीय संरचना कोषसँग औपचारिक सम्झौता नगरी निर्माण गर्न दिइएको र त्यसका लागि ५० लाख रुपैयाँ घुस लिएको आरोप पनि उनले लगाए।
मायादेवी मन्दिर आसपासका निर्माण कार्यमा ठेकेदारसँग कमिसन मागिएको, कमिसन नदिएपछि ठेकेदारलाई दुःख दिएको, अनियमिततामा सहमत नहुने कर्मचारीलाई पाखा लगाइएको, कनिष्ठलाई बढुवा गरिएको र आफ्ना अनुकूलका व्यक्तिलाई भर्ना गरिएको जस्ता विषय गम्भीर भएको उनले बताए।
स्थानीय, कर्मचारी र भिक्षुहरूले लामो समयदेखि विरोध गर्दै आए पनि कोषले स्पष्ट जवाफ नदिएको उल्लेख गर्दै सांसद गुप्ताले प्रदेश सभामार्फत तत्काल छानबिन र कारबाहीको माग दोहोर्याए।
“सम्मानित सभामार्फत मेरो माग छ— तत्काल छानबिन गरी दोषीउपर कारबाही होस्,” उनले भने।







