काठमाडौं — बैंकिङ कसूर मुद्दामा प्रभु बैंक लिमिटेड का Corporate & Project Finance विभागका प्रमुख दिनेश डंगोल पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोही मुद्दामा प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान जारी रहेको छ। अनुसन्धानको क्रममा संकलित तथ्य–प्रमाण तथा विज्ञ टोलीको अध्ययन–विश्लेषणबाट डंगोलले नेपाल राष्ट्र बैंक बाट जारी निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरेको देखिएको हो ।
ललितपुर महानगरपालिका–२७ निवासी ५० वर्षीय डंगोलले प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रा.लि. लगायतमा प्रवाह भएको कर्जा दुरुपयोग गर्ने/गराउने कसूर गरेको आरोप लागेकाे प्रहरीले जनाएको छ।
उक्त कसूरमा अनुसन्धानका लागि उच्च अदालत पाटन बाट पक्राउ गर्ने अनुमति लिइएको थियो । सोही आधारमा डंगोललाई हिजाे काठमाडौं महानगरपालिका–११ थापाथलीबाट पक्राउ गरिएको हो ।
हाल उनलाई उच्च अदालत पाटनबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए ।







