काठमाडौं । जुगल गाउँपालिका मा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाहरूको स्थलगत अवलोकनका क्रममा वातावरणीय, सामाजिक तथा व्यवस्थापकीय पक्षमा गम्भीर कमजोरीहरू देखिएको भन्दै एमालेको तर्फबाट सिन्धुपाल्चोक एकमा उम्मेदवार बनेका सरेश नेपालले सरकारी निकायको ध्यानाकर्षण गराएका छन्।
स्थानीयस्तरमा गरिएको अवलोकन अनुसार आयोजनाहरूले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न सकेका छैनन्। EIA प्रतिवेदन नेपाली भाषामा सर्वसाधारणले बुझ्ने गरी उपलब्ध नगराइएको, तथा त्यसको अनुगमन समेत प्रभावकारी नभएको गुनासो गरिएको नेपालले बताए ।
आयोजना सञ्चालनबाट स्थानीय लाभान्वित हुनु पर्नेमा उल्टै असन्तुष्टि र आक्रोश बढ्दै गएको देखिएको छ।
सुरुङ निर्माणका क्रममा निस्किएको ढुङ्गा–माटो सिधै नदीमा फाल्ने गरिएको भन्दै त्यसबाट नदी प्रणाली र जैविक विविधतामा दीर्घकालीन असर पर्ने चिन्ता व्यक्त गरिएको छ। यसबाट हुने क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठेको छ।
त्यस्तै, ब्लास्टिङका क्रममा स्थानीय आवागमन पूर्ण रूपमा अवरुद्ध हुने गरेको, वैकल्पिक व्यवस्था नगरिएको, र त्यसबाट गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दमजस्ता रोगका बिरामीहरूमा प्रत्यक्ष असर परेको गुनासो छ। सुरुङभित्र हुने शक्तिशाली विस्फोटका कारण आसपासका घरहरूमा क्षति पुगेको भए पनि त्यसको मूल्याङ्कन र क्षतिपूर्ति प्रक्रिया अघि नबढाइएको स्थानीयले बताएका छन्।
वन विनाशको उचित पुनःस्थापना कार्य नगरेको, प्रदूषण र पानीको गुणस्तर परीक्षण नगरेको तथा गुनासो उठाउने स्थानीयमाथि उल्टै मुद्दा दायर गरिएको भन्ने आरोपसमेत लगाइएको छ। विशेषगरी तेम्बाथाङ क्षेत्रका ११ जनामाथि मुद्दा हालिएको विषयले थप विवाद सिर्जना गरेको छ।
स्थानीयवासीहरूले जलविद्युत आयोजना नियमन गर्ने निकायहरू—जस्तै विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरण—समक्ष आफ्नो गुनासो संगठित रूपमा पुर्याई प्रभावकारी अनुगमन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न माग गरेका छन्।
जलविद्युत विकास राष्ट्रको प्राथमिकता भए पनि त्यसले स्थानीय वातावरण, समाज र जनजीवनमा पार्ने असरलाई बेवास्ता गर्दा दीर्घकालीन रूपमा द्वन्द्व र असन्तुलन बढ्ने जोखिम देखिएको सरोकारवालाहरूको भनाइ छ।







