सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाका विभिन्न स्थानमा अनुदानित रासायनिक मल अवैध रूपमा बिक्री भइरहेको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले ठूलो परिमाणमा मल बरामद गरेपछि कालोबजारीको विषय उजागर भएको हो ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार वडा नं. ७ को खाडिचौर, वडा नं. ५ को कोठे र वडा नं. १ को जलवीरे क्षेत्रमा गरिएको अनुगमनका क्रममा अनुदानित मल गैरकानुनी रूपमा भण्डारण गरी बिक्री वितरण भइरहेको भेटिएको हो ।


सरकारले किसानका लागि सहुलियतमा उपलब्ध गराएको मल व्यक्तिगत रूपमा बेचबिखन भइरहेको सूचना प्राप्त भएपछि प्रशासनले दुई दिनसम्म निरन्तर अनुगमन सञ्चालन गरेको थियो । सो क्रममा युरिया, पोटास, डीएपी, फस्फोरस लगायतका मलहरू ठूलो परिमाणमा लुकाइछिपाइ राखी बिक्री भइरहेको पुष्टि भएको छ ।
प्राप्त विवरणअनुसार जलवीरेबाट १९६ बोरा, खाडिचौरबाट २६४ बोरा र कोठेबाट ३६ बोरा मल बरामद गरिएको छ । यसरी कुल ४९६ बोरा मल नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ ।
बरामद गरिएको मल गोदाममा राखी तालाबन्दी गरिएको छ भने संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । प्रशासनले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न आगामी दिनमा थप कडा अनुगमन गर्ने चेतावनी दिएको छ ।






