काठमाडौँ । राजधानीको साँखु क्षेत्रमा लागुऔषध नियन्त्रणका क्रममा प्रहरी र लागुऔषध प्रयोगकर्ताबीच झडप हुँदा गोली प्रहार भएको छ।
शुक्रबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक समूहलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि नै गोली चलाएको जनाइएको छ। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गरेको बताइएको छ।
घटनामा एक जना लागुऔषध प्रयोगकर्ता घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी आएको भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।







