चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले आफ्नो ३०औँ वार्षिक साधारणसभाको अवसरमा पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै कल्याणकारी कोष विस्तारको योजना सार्वजनिक गरेको छ ।
आइतबार चौतारामा सम्पन्न साधारणसभामा शाखाले प्रारम्भिक रूपमा २ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरेको हो । शाखाका अध्यक्ष ध्रुव दंगालले कोषलाई विस्तार गर्दै वर्तमान कार्यकालभित्र १० लाख रुपैयाँ पुर्याउने लक्ष्य लिइएको बताए । उनले यो कार्यकाललाई “क्षमता अभिवृद्धिको वर्ष” का रूपमा अघि बढाइने जानकारी पनि दिए ।
कार्यक्रममा सिन्धुपाल्चोकमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका विभिन्न सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सिन्धु पत्रकारिता सम्मानबाट पूर्व अध्यक्ष पवित्रकुमार खड्का सम्मानित भए भने इश्वरीमान श्रेष्ठ र राम केशी स्मृति पत्रकारिता सम्मानबाट फोटो पत्रकार तथा जुगल टिभीका सञ्चालक होमनाथ कट्टेल ‘किशोर’ र महासंघका पूर्व उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद तिमल्सिना सम्मानित भए ।
यस्तै कञ्चन–ज्ञानेन्द्र स्मृति पुरस्कार दिनेश दुलाल, दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार रुपक कोइराला, रामप्रसाद घिमिरे स्मृति पत्रकार पुरस्कार जगन्नाथ दुलाल तथा कृष्णमाया घिमिरे स्मृति पुरस्कार शर्मिला ठकुरीलाई प्रदान गरिएको थियो ।
नानीराम नेपाल स्मृति क्रियाशील युवा पत्रकारिता पुरस्कार चित्र मिजार, जुगल नमोदित पत्रकारिता पुरस्कार अनिष तिवारी तथा सर्वपक्ष युवा पत्रकारिता पुरस्कार प्रकाश सुन्दासलाई प्रदान गरिएको आयोजकले जनाएको छ । सम्मानित सबैलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
पुरस्कार वितरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले राष्ट्रिय राजनीतिमा बढ्दो अस्थिरताप्रति चिन्ता व्यक्त गरे । उनले जनताको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रमका विशेष अतिथि महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकार महासंघले लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताए । उनले सरकारी विज्ञापनसम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै सञ्चारमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।
वागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले डिजिटल माध्यममा फैलिरहेको ‘डिफेक’ तथा गलत सूचनाको जोखिमबारे सचेत गराउँदै खोजमूलक र सिर्जनात्मक पत्रकारितामा जोड दिन सञ्चारकर्मीलाई आग्रह गरे ।
साधारणसभामा सचिव टीका सुवेदी र कोषाध्यक्ष दीपक खत्रीद्वारा प्रस्तुत संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूलाई पत्रकारितासम्बन्धी पुस्तक र रिपोर्टिङ सामग्री बोक्ने झोला वितरण गरिएको थियो ।







