काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा औषधि र स्वास्थ्य सामग्री बोकेको गाडीमा अचानक भएको विस्फोटले एक निर्दोष पैदलयात्रीको ज्यान गएको छ ।
शुक्रबार बिहान करिब १०:२० बजे सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकातर्फ जाँदै गरेको बा.प्र.०६–००१ झ ००१७ नम्बरको गाडीमा रहेका दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाएको उक्त गाडीले पनौतीस्थित नवज्योति अक्सिजनबाट अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर ल्याएको थियो । त्यसपछि नेपाल मेडिकल कलेज पछाडिको पञ्चकुमारी फार्मेसीबाट औषधि लिएर पाँचपोखरी प्राथमिक अस्पतालतर्फ जाँदै गर्दा माकलबारीमा दुर्घटना भएको हो ।
विस्फोटको चपेटामा परेका बागलुङ घर भई हाल गोकर्णेश्वर–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापालाई तत्काल नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो। तर उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि चालक कृष्ण अधिकारी प्रहरीको सम्पर्कमा रहेका छन् भने सवारीसाधन घटनास्थलमै राखिएको छ। विस्फोटको कारण र घटनाको सम्पूर्ण विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।







