चौतारा: सिन्धुपाल्चोकस्थित जिल्ला जनस्वास्थ्य कार्यालयको आर्थिक वर्ष २०८२/०८३ मा भएको स्वास्थ्य सामग्री खरिद, भुक्तानी, इन्धन खर्च तथा भ्रमण भत्तालगायतका खर्चमा अनियमितता भएको आशंका गर्दै नेपाली कांग्रेसले सूचना अधिकार ऐनमार्फत सम्पूर्ण कागजात माग गरेको छ ।
नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगरपालिका–५ वडा कार्य समितिले कार्यालय प्रमुख दुर्गा बजगाईलाई सम्बोधन गर्दै सूचना उपलब्ध गराउन औपचारिक निवेदन दिएको हो । निवेदनमा औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी टेन्डरका सम्पूर्ण कागजात, खरिद गरिएका सामग्रीको भुक्तानी विवरण, तालिम, गोष्ठी, भ्रमण तथा दैनिक भ्रमण भत्ताको विवरण, साथै कार्यालयका सवारीसाधनको इन्धन, मर्मत र प्रयोगसम्बन्धी सम्पूर्ण अभिलेख उपलब्ध गराउन माग गरिएको छ ।
सूचना अधिकार ऐन, २०६४ अनुसार माग गरिएको उक्त निवेदनको बोधार्थ बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा राष्ट्रिय सूचना आयोगलाई समेत पठाइएको छ ।
कांग्रेसका एक कार्यकर्ताका अनुसार जनस्वास्थ्य कार्यालयमा आर्थिक वर्ष २०८२/०८३ का विभिन्न शीर्षकका खर्चमा अनियमितता भएको आशंका उत्पन्न भएपछि तथ्य सार्वजनिक गर्न सूचना मागिएको हो ।
यद्यपि, जिल्ला जनस्वास्थ्य कार्यालयले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । कार्यालय प्रमुख दुर्गा बजगाई लगायतका केही कर्मचारी अहिले तनावमा परेका छन् । सूचना उपलब्ध भएपछि मात्र खरिद तथा खर्च प्रक्रियाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।







