काठमाडौं: काठमाडौंको बुद्धनगरमा शनिबार बिहान भएको एक पीडादायी घटनामा ४५ वर्षीय आश्विन राउतले आत्मदाहको प्रयास गरेका छन् । गम्भीर अवस्थामा रहेका उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ र वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारको तयारी गरिएको छ ।

प्रहरीका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा आगो लगाएका थिए । घटनालगत्तै प्रहरीले उद्धार गरी उनलाई वीर अस्पताल पुर्याएको थियो ।
वीर अस्पतालका प्लास्टिक सर्जन डा. पियूष दाहालका अनुसार राउत अस्पताल पुग्दा बोल्न सक्ने अवस्थामा थिएनन् । प्रारम्भिक शल्यक्रियापछि उनलाई आईसीयूमा राखेर उपचार गरिने तयारी भइरहेको छ।
काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार घटनाका बेला राउतकी श्रीमती र छोरा घरमा थिएनन्। आत्मदाह प्रयासको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यस घटनाले फेरि एकपटक मानसिक, पारिवारिक वा अन्य संकटमा परेका व्यक्तिहरूलाई समयमै सहयोग र साथको आवश्यकता कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्न उठाएको छ ।






