हेटौंडा: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना सबै मन्त्रीको सामूहिक राजीनामा दिएको छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया ले बुधबार मुख्यमन्त्रीलाई पत्र पठाउँदै वर्तमान राजनीतिक परिस्थिति र पार्टीको निर्णयअनुसार सरकारमा रहेका एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएको जानकारी गराएका हुन् ।
मुख्यमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) तथा पार्टीको निर्णयअनुसार आजकै मितिदेखि लागू हुने गरी मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ । साथै, उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।
एमालेको यस निर्णयसँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ राजनीतिक मोड आएको छ । अब सरकारको आगामी रणनीति र नयाँ मन्त्रिपरिषद् गठनबारे चासो बढेको छ ।







