हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बानियाँ नेतृत्वको सरकार संकटमा परेको थियो । प्रदेशसभामा आवश्यक बहुमत जुटाउन कठिन भएपछि उनले राजीनामा दिएका हुन् ।
बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ । अब नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको साझेदारीमा नयाँ प्रदेश सरकार गठन हुने भएको छ ।
नयाँ सत्ता समीकरणअनुसार एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सरकार गठनका लागि सहमति बनेको जनाइएको छ । नयाँ सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटका विषयमा दलहरूबीच थप छलफल हुने बताइएको छ ।
मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउनेछन् । बागमतीमा सत्ता समीकरण फेरिएसँगै प्रदेश राजनीतिमा नयाँ अध्याय सुरु भएको छ ।






