काठमाडौँ ।

चीन र नेपालको सीमा क्षेत्र रसुवामा आएको बाढीले धेरै स्वरोजगारमुलक व्यवसायी मारमा परेका छन् । चीनबाट सामान ढुवानी गर्ने तीस भन्दा धेरै कन्टेनर बाढीले बगाएपछि त्यसका सञ्चालकहरू मारमा परेका हुन् । अधिकांश कन्टेनर स्वरोजगारमुलक व्यवसाय अन्तर्गत सञ्चालित छन् । उनीहरु मध्ये अधिकांश आफै लगानीकर्ता र मजदुर हुन् । थोरै पूँजी सङ्कलन गरेर आफैले कन्टेनर खरिद गरेर सामान ढुवानी गरिरहेका स्वरोजगारमुलक व्यवसायीहरू धेरै मार्कामा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए । उनका अनुसार तीस वटा भन्दा धेरै मालबाहक गाडी बगाउँदा कराडौँको सामान पनि बगेको छ ।
तिब्बत र नेपालको सिमाना लिन्दी खोलामा रातको समयमा आएको भीषण बाढीले नेपाल–चीन जोड्ने रसुवा नाकास्थित मितेरी पुल र नेपालतर्फ रहेको सुख्खा बन्दरगाह पनि पूर्ण क्षति भएको छ । त्यसोत चीन बाट आयात गरिएको ईभी गाडी पनि बाढीले बगाएको छ ।
प्रहरीस्रोतका अनुसार विवरण सङ्कलन गर्ने कार्य भईरहँदा सम्पर्कमा आएकाहरू मध्ये चालीस भन्दा धेरै साना ठूला गाडी बाढीले बगाएको छ ।
स्वरोजगारमुलक व्यवसायमा रहेका केही मजदुरहरू पनि बाढीमा परेका छन् । बाढीले घेरेको अवस्थामा मजदुरहरू गाडीको छतमा बसेको भयावह दृष्य पनि देखिएको थियो । प्रायः कन्टेनरमै मजदुरहरू रहेका, सामान बोकेका गाडीहरू भन्सारका लागि लाइनमा बसेका कारण पनि धेरै क्षति भएको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजकुमार पौडेल बताउँछन् । एकजना मजदुरले तीन वटासम्म गाडी सुरक्षित स्थानमा ल्याएर पुनः अर्को कन्टेनर लिन जाँदा गाडीसहित बाढीमा परेको पनि अवस्था रहेको छ ।
उत्तरी नाकामा काम गर्नेहरूको अर्थतन्त्र नै डामाडोल बनाउने अवस्था आएको यो बाढी पीडितलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गरिदिनु पर्ने पूर्वअध्यक्ष पौडेल बताउँछन् । साथै कन्टेनरहरु आवद्ध रहेको नेपाल कन्टेनर ढुवानी सेवा प्रालिले पनि उचित राहतको घोषणा गर्नुपर्ने पूर्वअध्यक्ष पौडेलको भनाई छ ।
बैँक बाट ऋण लिएर काम गरेका स्वरोजगारमुलक व्यवसायीहरू यो बाढीपछि पूर्ण बेरोजगार हुने अवस्था पनि आएको छ । त्यसोत
एउटा कन्टेनरमा एक करोड भन्दा माथिका सामान लोड भएका हुने र २२ वटा गाडीमा त रेडिमेड सामानहरू मात्र भएका कारण आयात गर्ने व्यवसायीहरू पनि पुरै मर्कामा परेका छन् । बाढीमा परेका कन्टेनरमा रेडिमेड कपडाका साथै स्याउ, लसुनजस्ता खाद्यान्न पनि थिए । सरकारी तर्फबाट अहिलेसम्म राहत र अन्य प्याकेजको सामान्य आश्वासन पनि नआएका कारण व्यवसायीहरू झन् चिन्तित छन् । बीमा लगायतको काम द्रुत हुनुपर्ने र सरकारको तर्फबाट पनि व्यवसायीहरूका लागि राहत प्याकेज घोषणा हुनु पर्ने पूर्वअध्यक्ष पौडेलले बताए । व्यवसायीहरूले आफ्नै पहलमा सामान्य सुरक्षाका काम भने भएको अध्यक्ष सापकोटा बताउँछन् ।






