बाह्रबिसे ।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभाको दुईवटा क्षेत्र छ । जहाँ एक नम्बर क्षेत्रमा माओवादीका माधव सापकोटा माननीय छन् भने अर्को क्षेत्रमा मोहनबहादुर बस्नेत छन् । बस्नेत हाल निलम्बनमा छन् । यी दुईबीच विकासको ठेकेदार आफू भएको विषयमा निक्कै जस लिने होड हुन्छ । जिल्लामा धेरै गौरवका क्षेत्रहरू छन् । तर, ती क्षेत्रमा समस्या परेको खण्डमा यी दुवै कतै भेटिदैनन् ।
गएको आइतबारदेखि भोटेकोशी गाउँपालिकाको कोदारीस्थित इकु भीरमा पहिरो खसेर समस्या छन ।
माथिबाट पहिरो झरेको कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । मानिस आवतजावत गर्न पनि मुस्किल छ ।
चार दिन बित्यो इकु पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको । तर अझै पहिरो पन्छाउन सकिएको छैन । यो सडक चार दिनदेखि बन्द छ ।
नेपालको उत्तरी सीमा तातोपानी नाकाको सडकको हालत यस्तो छ । रसुवातर्फ पहिरो झर्दा समस्या भएका कारण यो मार्ग मात्र एक उपाय हो । तर, यहाँका अवस्था यस्तो छ । हरेक काममा जस लिन तँछाडमछाड गर्ने माननीय तथा पूर्वमन्त्रीले यस विषयमा चुइक्क बोलेको सुनिँदैन । पहलको विषय त धेरै परको कुरा ।
यो क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको तातोपानी नाका नजिक पर्छ । तातोपानी नाकाबाट आएका मालवाहक कन्टेनर रोकिएका छन् । चीनसँगको व्यापारमा असर छ । नियमित सञ्चालनका लागि सडक विभाग निरन्तर लागिरहेको प्रतिकृया दिन्छ । तर, बाटो खुलेको छैन ।
पहिरो पन्छाउन र भासिएको स्थान उठाउन नसक्दा चार दिन बित्दासमेत राजमार्ग नखुलेको हो । भोटेकोशी नदीको बहावले सडकलाई तानिरहेको छ । नदीले तानेर भासिएको सडक उठाउन सडक डिभिजन कार्यालयले हैरानी बेहोरिरहेको छ । दिनहुँ खस्ने पहिरोले कन्टेनर मात्रै होइन, बिरामी बोक्ने एम्बुलेन्सलगायतका अत्यावश्यक सबारीसाधन पनि रोकिनु परेको छ ।
चीनबाट छुटेका दर्जनौँ कन्टेनर खासा, लिपिङमा रोकिँदै आएका छन् ।






