चौतारा ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा राष्ट्रिय परिचयपत्रका लागि लागू गरिएको टोकन नै बिक्री हुने गरेको खुलासा भएको छ ।
कार्यालयको परिचयपत्र शाखामा कार्यरत दर्ता अपरेटर सूर्य प्रकाश श्रेष्ठले सेवाग्राही पुग्नुअघि टोकन घोटला गरेको पीडितहरू बताउँछन् । सेवाग्राही पुग्नु अघि नै दैनिक १ देखि २० नम्बरसम्मका टोकन श्रेष्ठले आफैं लिएर राख्ने गरेको स्रोतले बतायो । स्रोतले भन्यो– ‘यी टोकन बिचौलियालाई दिइन्छ, जसले टाढाबाट आएका सेवाग्राहीलाई “छिटो सेवा” दिने नाममा रकम असुल्छन् ।’
श्रेष्ठले साझेदारीमा फारम भर्ने केन्द्र पनि खोलेका छन् । चौतारामा रहेको सो केन्द्रमार्फत फाराम भरेपछि छिटो काम हुने गरेको छ । त्यसबापत अवैध शुल्क असुल्ने गरिएको छ । केही समयदेखि जिल्ला प्रशासन कार्यालयले सेवा लाई सहज बनाउन टोकनको व्यवस्था गरेको हो ।
टोकन सेवा सुरु हुनु भन्दा अगाडि श्रेष्ठले आफ्नो साइबरमै भरिएको फारमलाई मात्र प्राथमिकतामा राखेर राष्ट्रिय परिचयपत्रको काम गर्ने गरेका थिए ।
साईवारबाट सङ्केत गरेर आएको फारमलाई उनले सहजै राष्ट्रिय परिचयपत्र बनाएर पठाउने गरेको एक भुक्तभोगीले बताए ।
हाल टोकन सिस्टम लागू गरेपछि कार्यालय सुरु हुनेबित्तिकै टोकन लिएर बिचौलियालाई दिने गरेका छन् ।
हाल सम्पूर्ण सार्वजानिक कार्यमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरणका लागि समेत अनिवार्य गरिएको छ । यही फाइदा उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयका कर्मचारीबाट सेवाग्राही ठगिन क्रम बढेको छ ।






