काठमाडौँ ।

दैनिक करोडौँ राजस्व असुल गर्ने चीन नेपालबीचको तातोपानी नाका व्यवस्थित पार्न हिमालय सीमापार वाणिज्य सङ्घले बिभिन्न निकायमा घच्घच्याइरहेको छ । पछिल्लो पटक उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर सङ्घका पदाधिकारीले समस्याका बारे ध्यानाकर्षण गराएका छन् । रसुवामा बाढीले पारेको विपत्तिले आवतजावत नभएको र तातोपानी नाकामा चाप धेरै भएका कारण यहाँको बाटो र भन्सार व्यवस्थापनमा सहयोग गर्न मन्त्रीलाई आग्रह गरिएको छ ।
अरनिको राजमार्गको बाह्रबिसे तातोपानी खण्डको अवस्था सुधार गर्नका लागि मन्त्री पौडेलले भौतिक सचिवलाई तत्काल टेलिफोन गरेर निर्देशन दिएका थिए । बाटोका कारण अहिले पनि रसुवा नाका र तातोपानी नाकामा अरबौँ रुपैयाँका सामानहरू रोकिएका कारण सो बारेमा पनि मन्त्रीलाई ध्यानाकर्षण गराइएको बरिष्ठउपाध्यक्ष गङ्गाबहादुर घिमिरेले जानकारी दिए ।
सङ्घका पदाधिकारीले यस अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटेर समस्याका बारेमा जानकारी गराएको थियो । आपूर्तिको सहज व्यवस्थापन र व्यवसायीहरूको हितका लागि मन्त्री भण्डारीलाई भेटेर जानकारी गराइएको वाणिज्य सङ्घले जनाएको छ । यसैगरी भन्सार विभाग पुगेर पनि सङ्घका पदाधिकारीले समस्या अवगत गराएका थिए ।
तातोपानी र रसुवा क्षेत्रको बाटो र पुलको समस्या समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि ध्यानाकर्षण गराएको छ । हरेक क्षेत्रबाट समस्या समाधानका लागि आश्वासन पाएपनि ठोस कार्य हुन बाँकी रहेको छ । चीनको खासा क्षेत्रमा अहिले पनि सयौँ मालबाहक गाडी रोकिएर बस्नु परेको छ । चाडवाड लक्षित सामानहरू रोकिँदा उपभोक्ताहरू पनि मारमा पर्ने निश्चित छ ।
समस्या समाधानका लागि सङ्घले ल्हासास्थित महावाणिज्य दूतावासमा पनि अनुरोध गरिएको थियो । सो अनुरूप महावाणिज्य दुतावासको सहयोगमा धेरै काम भएका छन् ।






