काठमाडौ ।

नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले सामाजिक सञ्जालमार्फत फैलिरहेको ‘Nepse AI’ नामक एप्सबारे आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
ब्युरोले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा देखाइने विज्ञापनमार्फत प्रयोगकर्तालाई ‘Nepse AI’ एप डाउनलोड र इनस्टल गर्न प्रलोभन देखाइएर ठगी हुने गरेको जनाएको छ। विज्ञापनमा देखाइएका लिंक क्लिक गरी उक्त एप इनस्टल गरेपछि प्रयोगकर्ताको मोबाइल र डिजिटल उपकरणमा ठगले पहुँच पाई बैंक खाताबाट रकम ट्रान्सफर गर्ने गरेको अनुसन्धानमा खुलेको छ।
विज्ञप्तिमा भनिएको छ, “यस्ता एप्स इनस्टल गरेपछि केही समयमै मोबाइल स्क्रीन ब्लैंक हुने, बैंक खाताबाट लाखौँ रुपैयाँ कटौती हुने जस्ता घटना दोहोरिँदै आएका छन्। यसरी आर्थिक क्षति भएपछि रकम फिर्ता पाउन कठिन हुने भएकाले कुनैपनि अपरिचित लिंक वा एप्स इनस्टल नगर्नुहोस्।”

::: ठगीबाट बच्न निम्न सावधानी उपनाउन प्रहरीले अनुरोध गरेको छ ::
- टू–फ्याक्टर अथेन्टिकेशन कोड प्रयोग गर्ने (एसएमएस वा अन्य सुरक्षित माध्यममार्फत)।
- पासवर्ड समय समयमा परिवर्तन गर्ने।
- अपरिचित लिंक वा एप्स इनस्टल नगर्ने।
- Any Desk, Team Viewer जस्ता रिमोट एक्सेस सफ्टवेयर प्रयोग नगर्ने।
- केवल आधिकारिक App Store वा Google Play Store बाट मात्र एप्स इनस्टल गर्ने।






