काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर गरी ५० वटा चोरीका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
प्रहरीका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा फरक–फरक समयमा चोरी भएका ती सवारीसाधन खोजी तथा अनुसन्धानका क्रममा फेला पारिएको हो ।
कार्यालयका अनुसार एसएसपी सुरेशप्रसाद काफ्ले कार्यालय प्रमुखका रूपमा हाजिर भएयता मात्रै २०० भन्दा बढी चोरी भएका सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकिएको छ ।
चोरी भएका सवारीसाधन खोजी तथा नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै ठूलो संख्यामा सवारीधनीले आफ्नो सवारीसाधन फिर्ता पाउन थालेका छन् ।

ट्राफिक प्रहरीले सवारीसाधन चोरी हुन नदिन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डल लकसहितका सुरक्षा उपकरण प्रयोग गर्न तथा पार्किङ गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।






