काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दा रहेको प्रहरी विवरणबाट खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार तामाङविरुद्ध काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । प्रहरीको विवरणमा ९ वटा बैंकिङ कसुर र एउटा ठगीसम्बन्धी मुद्दा उल्लेख छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्रै बैंकिङ कसुरका चारवटा मुद्दामा क्रमशः ३ करोड ४ लाख, १ करोड ३ लाख ३० हजार, ४८ लाख र १५ लाख रुपैयाँ बिगो कायम रहेको छ । त्यस्तै, ठगीसम्बन्धी मुद्दामा २ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरिएको प्रहरी विवरणमा उल्लेख छ ।
यसैगरी, जिल्ला प्रहरी परिसर भक्तपुरमा २ लाख रुपैयाँ, प्रहरी वृत्त जनसेवामा ७५ लाख रुपैयाँ, प्रहरी वृत्त दरबारमार्गमा ५ लाख २५ हजार रुपैयाँ र प्रहरी वृत्त लैनचौरमा १९ लाख ८० हजार रुपैयाँ बिगोका बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेको देखिएको छ । महाराजगञ्ज प्रहरी वृत्तमा समेत बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको विवरणअनुसार उल्लेखित मुद्दाहरूमा मात्रै करिब ७ करोड ६९ लाख ८५ हजार रुपैयाँ बिगो कायम देखिन्छ ।
तामाङलाई फरार प्रतिवादी खोजतलासका क्रममा नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त दरबारमार्गमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तामाङ सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए । छलफल सकेर बाहिरिने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।








