चौतारा ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गतको साँगाचोक बजारमा बिहीबार गरिएको बजार अनुगमनका क्रममा ठुलो मात्रामा म्याद गुज्रिएका खाद्यपदार्थ फेला परेका छन्।
प्रमुख जिल्ला अधिकारी मुक्ति बास्तोलाको अध्यक्षतामा भएको बैठकको निर्णयअनुसार उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख त्रिपुरारी बख्रेलसहितको टोलीले अनुगमन गरेको हो।
अनुगमनका क्रममा विना इजाजत सञ्चालित एक मेडिकललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, म्याद गुज्रिएका हलुका पेयपदार्थहरू ठूलो परिमाणमा जफत गरिएको छ। साथै, अवैध गतिविधि गरेको एक होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अनुगमन टोलीले करिब २० हजार २ सय रुपैयाँ बराबरका म्याद नाघेका सामान नष्ट गरेको जनाएको छ। प्रशासनले यस्तो क्रियाकलापले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै व्यवसायीहरूलाई म्याद सकिएका सामान तत्काल हटाउन र नियम अनुसार व्यापार गर्न चेतावनी दिएको छ।






