मेलम्ची नगरपालिका–९ स्थित पर्यटकीय गन्तव्य गुफाडाँडामा होम स्टे सञ्चालनमा आएको छ । नगर प्रमुख आइतमान तामाङले शुक्रबार एक विशेष समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष किरणदिप खड्का लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।

गुफाडाँडा घुम्न आउनेको संख्या बढ्दै गए पनि खानाबस्नका सुविधा अभाव देखिएकाले होम स्टे सुरु गरिएको होमस्टे सञ्चालक निनामाया मोक्तानले जानकारी दिइन । मेलम्ची नगरपालिकासँगको साझेदारीमा बनेको यो होम स्टेले पर्यटकलाई कम्तीमा एक दिन गुफाडाँडाको वातावरणमा रमाउने अवसर दिने विश्वास गरिएको छ ।
सञ्चालक मोक्तानले गुफाडाँडा मात्र नभई आसपासका क्षेत्रलाई समेत पर्यटन प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य रहेकोले स्थानीय उत्पादन, संस्कृतिको अनुभव र आतिथ्य मार्फत आगन्तुकलाई आकर्षित गर्ने योजना बनाएकाको बताइन ।






