मेलम्ची ।

असोज २ गते मेलम्ची–६ मानेभन्याङस्थित श्री जागेश्वरी आधारभूत विद्यालयले आफ्नै अग्रसरतामा विद्यालय परिसरमै नमुना किचेन गार्डेन निर्माण गरेको छ । विद्यार्थीलाई स्वदेशी, ताजा र अर्गानिक दिवा खाजा खुवाउने उद्देश्यसहित विद्यालयले आफ्नै जग्गामा करेसाबारी स्थापना गरेको हो ।
करीब ३५ फिट लम्बाइ र २० फिट चौडाइमा फलामे टनेलसमेत जडान गरी तयार गरिएको किचेन गार्डेनबाट वर्षभरि विद्यालयमा अध्ययनरत करिब १३५ जना विद्यार्थी र शिक्षकलाई तरकारी खान पुग्ने अपेक्षा गरिएको छ । यस अवसरमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, पिटिए प्रतिनिधि र अभिभावकको सक्रिय सहभागितामा मौसमी तरकारीका विभिन्न जातका बिरुवा रोपिएका छन् ।
कार्यक्रममा विद्यालयका फोकल शिक्षक तथा किचेन गार्डेन संयोजक लालबहादुर अर्यालले करेसाबारी व्यवस्थापन, रोप्ने तरिका, गोडमेल र संरक्षणका विषयमा अभिमुखीकरण गराए ।
चाइल्ड रेस्क्यु नेपाल र साझेदारी नेपालको सहयोगमा बनेको यस किचेन गार्डेनका लागि पलामे टनेल, विभिन्न जातका बीउ–बिजाणु, कृषि औजार, सञ्चालनका लागि आवश्यक खर्च तथा नियमित प्राविधिक सहयोग उपलब्ध गराइएको साझेदारी नेपालका सल्लाहकार पुरुषोत्तम घोरासैनी र कार्यक्रम अधिकृत पुष्पा भण्डारीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक बल बहादुर तमाङले किचेन गार्डेनले विशेषगरी दलित र जनजाति पृष्ठभूमिका विद्यार्थीलाई स्वस्थ र पोषिलो तरकारी उपलब्ध गराउने विश्वास व्यक्त गरे । यसले बालबालिकामा चाउचाउ र रेडिमेड बिस्कुटजस्ता अनारोग्यकर खाने बानी घटाउँदै विद्यालयप्रति रुचि बढाउने अपेक्षा राख्दै गार्डेनको संरक्षण र व्यवस्थापनमा विद्यार्थी, शिक्षक र अभिभावकलाई सक्रिय बनाउने तमाङको प्रतिवद्धता छ ।






