सिन्धुपाल्चोक – जिल्लाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक एवं व्यवस्थापकीय सहयोगमा सुनकोशीस्थित ग्रामीण महिला सिर्जनशील परिवारमा आयोजित तालिममा ४५ जना स्वयंसेविकाको सहभागिता रहेको थियो।
तालिममा मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, खोप, सरसफाइ, समुदायमा स्वास्थ्य प्रवर्द्धन तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका सम्बन्धी विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको जनाइएको छ। तालिमको संयोजन जनस्वास्थ्य अधिकृत सुविना श्रेष्ठले गर्नुभएको थियो।
विभिन्न स्थानीय तहबाट सहभागी स्वयंसेविकामध्ये चौतारा साँगाचोकगढी नगरपालिकाबाट १० जना, मेलम्ची नगरपालिकाबाट ७ जना, पाँचपोखरी थाङपाल र बाह्रविसेबाट ६/६ जना, त्रिपुरासुन्दरीबाट ५ जना, सुनकोशीबाट ४ जना, बलेफीबाट ३ जना, हेलम्बुबाट २ जना तथा इन्द्रावती र लिसंखुपाखरबाट १/१ जना सहभागी भएका थिए।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा फेयरमेड फाउन्डेसन सिन्धुपाल्चोकका टिम लिडर डम्बरसिंह गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोविन्दबहादुर हायू, महिला आत्मनिर्भरता केन्द्रकी सचिव कालीमाया वाइबा, सामाजिक परिचालक हिरा थामी तथा ग्रामीण महिला सिर्जनशील परिवारका निर्देशक राजु विश्वकर्मालगायतको उपस्थिति रहेको थियो।
तालिममा गोविन्दबहादुर हायूसहित भवानीकुमारी खड्का, नारायणकुमारी कार्की, सुजना कार्की, होस नारायण राउत र स्वस्थानी थामीले प्रशिक्षण दिनुभएको थियो।
समापन कार्यक्रममा वक्ताहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा चित्रण गर्दै तालिमबाट हासिल ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए। सहभागीहरूले पनि तालिमले आफ्नो कार्यक्षमता र आत्मविश्वास बढाउन महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।







