काठमाडौँ ।

नागरिक समाजका बुद्धिजीवी, लेखक, प्राध्यापक र पूर्वअधिकारीलगायत ३० जनाले सरकार र राजनीतिक दलहरूलाई निष्पक्ष र विश्वसनीय वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न अपिल गरेका छन् ।
भदौ २३–२४ गतेको जेन–जी पुस्ताको विद्रोहपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । बुधबार संयुक्त अपिल जारी गर्दै नागरिक समाजका अगुवाहरूले संविधान र लोकतान्त्रिक मूल्यको रक्षा गर्न निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।
अपिलमा हस्ताक्षर गर्नेहरूमा अर्चना थापा, इन्द्र अधिकारी, उद्धव प्याकुरेल, उत्तमबाबु श्रेष्ठ, कृष्ण खनाल, खगेन्द्र संग्रौला, गेजा शर्मा वाग्ले, चन्द्र किशोर, तारानाथ दाहाल, तुलानारायण साह, भोजराज पोखरेल, सञ्जीव उप्रेती, श्रवण मुकारुङ, युग पाठकलगायत छन् ।






