काठमाडौं ।

नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकपमा स्थान बनाएको छ। ओमानमा जारी इस्ट एसिया प्यासिफिक (EAP) क्वालिफायरमार्फत नेपाल र घरेलु टोली ओमानले विश्वकपको टिकट पक्का गरेका हुन्।
अहिले भर्खर सम्पन्न खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई पराजित गरेपछि नेपाल र ओमान दुवैको विश्वकप यात्रा सुनिश्चित भएको हो। प्रतियोगितामा दुवै टोली अपराजित रहेका छन् र दुई खेल बाँकी छँदै विश्वकपमा पुग्न सफल भएका हुन्।
हाल सुपर सिक्स चरणमा नेपाल र ओमान दुवैका ६–६ अंक छन्। रनरेटका आधारमा ओमान शीर्षस्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ। नेपालले आगामी खेलमा ओमानलाई पराजित गर्न सके शीर्षस्थानमा उक्लनेछ।
नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ।
यससँगै नेपालको टी–२० विश्वकपमा लगातार दोस्रो सहभागिता हुने पक्का भएको छ। नेपालले यसअघि सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो।
क्रिकेटप्रेमीहरूका लागि यो ऐतिहासिक सफलता मानिँदैछ, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ।






