सिन्धुपाल्चोक — छैटौँ लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेलरेस प्रतियोगितामा धावक सञ्जय राई च्याम्पियन बनेका छन्। सोमबार सम्पन्न प्रतियोगितामा १ सय २७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले खुला विधातर्फ उपाधि हात पारे।
साढे २४ किलोमिटर लामो दुरी २ घण्टा ११ मिनेटमा पूरा गर्दै राईले १ लाख १० हजार रुपैयाँ नगद पुरस्कार जिते। गत संस्करणका विजेता करण रावल २ घण्टा १२ मिनेटमा दौड पूरा गर्दै दोस्रो भए र ७५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै, रमेश लिम्बु २ घण्टा १४ मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरी ५५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए।
खुला विधामा नरेन्द्रसिंह रावल, लोकेन्द्र राई, राजेन्द्र तामाङ, विशाल राई, विशालबहादुर तामाङ, प्रवल क्षेत्री र राजन मेयोङ्वा उत्कृष्ट १० भित्र परेका छन्। उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
महिला विधातर्फ सशस्त्र प्रहरी बलकी आश्मा बिक विजेता बनिन्। उनले २ घण्टा ५८ मिनेटमा दौड पूरा गर्दै ६० हजार रुपैयाँ पुरस्कार जितिन्। चन्दना राई दोस्रो र भावना शाही तेस्रो हुँदै क्रमशः ३५ हजार र २० हजार रुपैयाँ प्राप्त गरे।
स्थानीयतर्फको प्रतिस्पर्धामा भोटेकोसी गाउँपालिकाका जाङ्बो शेर्पा प्रथम, कृष्ण भण्डारी द्वितीय र निमाछिरि तामाङ तृतीय बने। उनीहरुले क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगद पुरस्कार हात पारे।
विजेताहरुलाई उपत्यका पृतनाका पृतनापति उपरथि रविन्द्र खत्री, नम्बर २६ बाहिनीका बाहिनीपति भीमशंकर बम, भोटेकोसी गाउँपालिकाका अध्यक्ष पाशाङनुर्बु शेर्पा लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
भोटेकोसी गाउँपालिकाको प्रायोजनमा नेपाली सेनाले विगत ६ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको प्रतियोगिता यसपटक चौतारास्थित इन्द्रध्वज गणले सञ्चालन गरेको हो। तिब्बतसँगको ऐतिहासिक दुगुनागढी किल्लाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ट्रेलरेस तातोपानीबाट सुरु भई विभिन्न स्थान हुँदै दुगुनागढीमा पुगेर सम्पन्न भएको थियो।







