हेटाैंडा: प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, हेटौँडाको आयोजनामा सम्पन्न तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत काठमाडौंस्थित उसु कबर्डहलमा भएको उसु प्रतियोगितामा सिन्धुपाल्चोक जिल्ला टोली टिम च्याम्पियन बनेको छ।
प्रतियोगितामा सिन्धुपाल्चोकले ५ स्वर्ण, २ रजत र १ कास्य गरी कुल ८ पदक जित्दै समग्र उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।
स्वर्ण पदक विजेतामा राजेश रायमाझी, सन्तोष सिग्देल, सोमबिर तामाङ, सुन्तली थामी र प्रनिसा तामाङ रहेका छन्। त्यसैगरी साजन गुरागाईं र बुद्ध तामाङले रजत तथा कल्पना नेपालीले कास्य पदक जितेका छन्।
प्रशिक्षक धनकुमार तामाङको नेतृत्वमा सिन्धुपाल्चोक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लालाई गौरवान्वित बनाएको हो।
जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले विजेता सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत जिल्लाको नाम उच्च राख्न प्रेरणा दिएका छन्। उनले खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणले सिन्धुपाल्चोकको खेल क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।







