काठमाडौँ । नामावली दर्ताको समय लम्ब्याउन नसकिने भएपछि अब राष्ट्रिय परिचयपत्रका लागि संकलन गरिएको बायोमेट्रिक विवरणबाट पनि मतदाता सूची तयार पार्ने तयारी गरिएको छ।

प्रधानमन्त्री शुशीला कार्कीसँग भएको छलफलमा राष्ट्रिय पञ्जीकरण विभागले परिचयपत्रका लागि संकलित जैविक तथ्यांक (बायोमेट्रिक डाटा) निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएको थियो ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, आजदेखि राष्ट्रिय परिचयपत्र बनाएका तर मतदाता नामावलीमा नाम नपरेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने व्यवस्था मिलाइएको छ।
‘यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालय पुग्न नसक्ने मतदातालाई सहज बनाउनेछ,’ रावलले बताएका छन्।
छलफलमा निर्वाचन आयोगले तयारीका करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको र आगामी फागुन २१ गते निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सकिने ब्रिफिङ गरेको थियो।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार, निर्वाचन आयोगमा दर्ता भएका कुनै दलले पनि चुनावमा भाग नलिने भनाइ नदिएकाले निर्वाचनको वातावरण सकारात्मक बन्दै गएको छ। विगतमा निर्वाचन बहिष्कार गर्ने दल र समूहहरू समेत अहिले चुनावमा भाग लिन तत्पर देखिएकाले वातावरण अझ सहज बनेको उनको भनाइ छ।
आयोगले जनाएको अनुसार, नयाँ दलहरूको दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम उत्साहजनक छ। हालसम्म २२ राष्ट्रिय र २ अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचन पर्यवेक्षणका लागि दर्ता गराइसकेका छन्।
आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा दलहरूलाई सुझावका लागि पठाइसकेको र छिट्टै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।
प्रधानमन्त्री कार्कीले छलफलमा उम्मेदवारको खर्च घटाउने र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको सम्भावनाबारे पनि चासो राखेका थिए।






