श्री थाङ्पालधाप माध्यमिक विद्यालयको अङ्ग्रेजी विभागद्वारा आयोजित अङ्ग्रेजी निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाकै पुरानो प्रतिष्ठित र शैक्षिक गुणस्तरमा अब्बल बिद्यालयको रुपमा स्थापित श्री थाङ्पालधाप माध्यमिक विद्यालयको अङ्ग्रेजी विभाग द्वारा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा गाउँपालिका भित्रका सबै माध्यमिक विद्यालयहरु सहभागी रहेका थिए ।

प्रतियोगितामा थाङपालधाप माध्यमिक विद्यालयका आरबी पौडेल पहिलो,श्री भिमविद्याश्रम माध्यमिक विद्यालयका कृष्ण तामाङ दोश्रो, चण्डिका माध्यमिक विद्यालयका दावा साङ्बो बोम्जन तेस्रो र श्री याङ्री एकेडेमीक सेन्टरका मिङमार स्याङ्बो तामाङले सान्त्वना स्थान हासिल गरेको निर्णायक एवम् श्री सरस्वती माध्यमिक विद्यालय ग्यालथुमका प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए ।
वडा कार्यालयको सहयोगमा सम्पन्न कार्यक्रम विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सुदे वाइबाको अध्यक्षतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले विद्यालयको प्रयास प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाकै नमुना विद्यालयका रुपमा रहेको यस विद्यालयले हरेक क्षेत्रमा फड्को मार्दै अगाडि बढेको अध्यक्ष लामाले दावी गरे । कार्यक्रममा प्रमुख अतिथि लामाले गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा उल्लेख्य काम गरिरहेको उल्लेख गर्दै त्यसको फलस्वरूप अहिले जिल्लामा पहिलो भएको उनले बताए ।
विशेष अतिथि तथा वडाध्यक्ष नारायण भट्टराईले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै वडाबाट शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने आश्वासन दिए ।






