पाँचपोखरी थाङ्पाल गाउँपालिकामा संचालित सामुदायिक तथा संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समिति (एसएमसी) अध्यक्षहरू र प्रधानाध्यापकहरूका लागि दुई दिने क्षमता विकास कार्यक्रम सुरु भएको छ। “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन: समृद्ध पाँचपोखरीको मूलधन” नाराका साथ आयोजित उक्त तालिम आज पाँचपोखरी सभाहलमा औपचारिक रूपमा प्रारम्भ गरिएको हो।

गाउँपालिकाले विद्यालयहरूमा प्रभावकारी नेतृत्व, योजनाबद्धता, शैक्षिक व्यवस्थापन तथा सेवा प्रवाह सुदृढ बनाउने उद्देश्यले तालिम सुरु गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापनको नीति, नेतृत्वदक्षता, जिम्मेवारी र भूमिकाबारे अभिमुखीकरण गरिने बताइएको छ। साथै विद्यालयमा शिक्षा गुणस्तर सुधार, पारदर्शिता तथा स्थानीय शिक्षा प्रणालीलाई प्रभावकारी बनाउने उपायहरूबारे सहभागीहरूको क्षमता अभिवृद्धि गराइनेछ।
दुई दिनसम्म चल्ने उक्त तालिममा गाउँपालिकाअन्तर्गतका विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।






