काठमाडौँ ।
नेपाल–चीन सीमाका मुख्य विन्दु तातोपानी र रसुवा नाकामा पछिल्ला दिनमा उत्पन्न अवरोधले व्यापार, यातायात र स्थानीय जनजीवन प्रभावित बनेको छ । असार २४ गतेपछि देखिएको समस्याले अहिले गम्भीर रूप लिँदै गएको छ । रसुवा नाका लामो समयदेखि पूर्ण रूपमा बन्द छ भने तातोपानी नाका पनि आंशिक रूपमा मात्र सञ्चालनमा आएको छ । तर, यो नाका हुँदै काठमाडौँ आउन सडक पनि स्थानीयको नाममा तीन दिनदेखि बन्द छ ।

तातोपानी नाका हुँदै आउने सामान अहिले खाँसा नजिकै नै जाममा अड्किएका छन् । चीनतर्फको पुनर्निर्माण, भन्सार प्रक्रिया ढिला हुनु र प्रशासनिक तयारी कमजोर देखिनुले व्यापारमा ठूलो असर परेको व्यवसायीहरू बताउँछन् । फलफूल तथा नाशिनेजस्ता सामग्रीको अवस्था झन् दयनीय छ । चीनबाट ल्याइएका स्याउ जस्ता सामान कुहिन थालिसकेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दाले सडक मर्मत–निर्माणको पुरानो माग उठाउँदै तातोपानी नजिकै सडक अवरुद्ध गरेका छन् । यसले गाडीको आवतजावत रोकिँदा समस्यामा परेकाहरूको असन्तुष्टि बढेको छ। स्थानीयको जायज माग सुनिनुपर्ने भए पनि बन्द को ढंगले ठूलो क्षति गरिरहेको व्यवसायीहरू बताउँछन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले भने प्रशासनले पहल गरिरहेको दाबी गरेका छन् । तर, तीन दिन बितिसक्दा पनि ठोस परिणाम नदेखिएको भन्दै व्यवसायी तथा स्थानीय दुवैतर्फबाट असन्तुष्टि बढ्दो छ ।
यसबीच, क्षेत्रका सांसद माधव सापकोटाले तातोपानी सडक अवरोधलाई सामाजिक सञ्जालमा समर्थन गरेको भन्दै उनको भूमिकाबारे समेत चासो व्यक्त गरिएको छ। सांसदकै समर्थनमा स्थानीय आन्दोलनले बल पाएको आरोपसमेत लगिन थालेको छ।
व्यवसायीहरूको भनाइमा, नाकामा रोकिएका नाशिने सामान बिग्रँदै गएकाले कुनै पनि बेला ठूलो आर्थिक क्षति हुनसक्छ। उनीहरूले सुरक्षा निकायलाई बल प्रयोग गरेर भए पनि अवरुद्ध बाटो खुलाउन माग गरेका छन्।
नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूले तत्काल समन्वय गर्दै स्थानीयको माग सुनुवाइ, सडक मर्मत र नाका सञ्चालन सामान्य बनाउन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।
नाका लामो समय बन्द रहँदा व्यापार, पर्यटन र स्थानीय रोजगारीमा थप संकट चुलिने चिन्ता बढ्दै गएको छ।






