काठमाडौँ। आफूलाई शिक्षा मन्त्रालयको शाखा अधिकृत भन्दै सिंहदरबारलगायत सरकारी निकायमा पुगेर सर्वसाधारणलाई ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

ललितपुर घर भई काठमाडौँको झोँछे बस्ने २३ वर्षीय समन श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार श्रेष्ठले नक्कली शैक्षिक तथा नियुक्तिसम्बन्धी कागजात प्रयोग गरी सरकारी कर्मचारी भएको भ्रम सिर्जना गर्दै जागिर लगाइदिने आश्वासनमा रकम असुल्ने गरेका थिए।
उनले बागमती प्रदेश लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति भएको नक्कली पत्र र अर्थ मन्त्रालयबाट तलब पाएको भन्दै बनाइएका कागजातसमेत देखाउने गरेको प्रहरीको भनाइ छ। सरकारी कर्मचारीको पोसाक लगाएर सिंहदरबार तथा अन्य निकायमा नियमित रूपमा जाने गरेको पनि अनुसन्धानबाट खुलेको छ।
श्रेष्ठमाथि नक्कली कागजात तयार गरी आर्थिक लाभ लिएको आरोपमा लिखतसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भद्रकालीले जनाएको छ।






